लेख विवरण

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको पहिलो जित

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ । जित हातपार्ने क्रममा बागमतीले प्रतियोगिताको बलियो टोली मध्ये एक मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेशलाई १ सय ४ रनमा अलआउट बनाउन बागमतीका सुर्य तामाङ एक्लैले ६ विकेट लिए । उनले ९ ओभर फाल्ने क्रममा ३ मेडन सहित १८ रन मात्र खर्चे । त्यस्तै प्रतिश जिसी र इसान पाण्डेले समान २-२ विकेट लिए ।

मधेश प्रदेशका लागि पवन सर्राफले सर्वाधिक ४५ रन बनाए । ओपनर मयन यादव (३१) र निरज यादवले अविजित (१५) रन बनाए । यी बाहेक मधेशका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा १ सय ९० रन बनाउदै अलआउट भएको थियो । टोलीका लागि प्रतिश जिसीले ५९ रनको अर्धसतकीय पारी खेलेका थिए । यस क्रममा उनले समान ४-४ चौंका र छक्का प्रहार गरे । त्यस्तै रविन जोशी (२१), इशान पाण्डे (१५), बिपिन आचार्य (१३), रित गौतम (१२), रजिन ढकाल (११), आषुतोश घिरैया (८) र सुर्य तामाङले (७) रन बनाए ।

मधेका लागि बलिङमा रुपेश सिंह र अरनिको यादवले २-२ विकेट लिए । राजेश यादव, रंजीत कुमार, हरि शंकर साह र पवन सर्राफले समान १-१ विकेट लिए ।

जारी प्रतियोगितामा बागमती प्रदेश यअअघि नेपाल पुलिस क्लबसँग ६८ र एपिएफसँग ८९ रनले पराजित भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.