प्रधानमन्त्री कप क्रिकेट : सुदुरपश्चिमको लगातार दोस्रो जित, तिन खेलाडीले बनाए अर्धसतक
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
भैरहवा स्थित सिद्धार्थ रंगशालमा टस हारेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउदै २ सय ७७ रन बनाएको थियो । जवाफमा कर्णाली ३७.२ ओभरमा १ सय ४३ रन बनाउदै अलआउट भयो । कर्णालीलाई रोक्न सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । त्यस्तै विकास अग्रीले २ तथा नारायण जोशी, भोज राज भट्ट र नरेन भट्टले समान १-१ विकेट लिए ।
कर्णालीका दिवान पुन (३८), अर्जुन घर्ति (२४), दिनेश अधिकारी (२०) र हिमान्शु शाहीले (१७) रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमका लागि ओपनर खड्क बोहराले ८० रनको अर्धसतकीय पारी खेले । यस क्रममा उनले ६ चौंका प्रहार गरे । अर्का ओपनर टेक रावतले अर्धसतक प्रहार गर्ने क्रममा ५९ रन बनाए । उनले ७ चौंका प्रहार गरे । किरन ठगुनाले पनि अर्धसतक प्रहार गर्ने क्रममा ३३ बलमा ५० रन बनाए । उनले ५ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै नरेन भट्टले १५ रन बनाउदा नारायण जोशी १२ बलमा ३१ रन बनाउदै अविजित रहे । उनले १ चौंका र ३ छक्का प्रहार गरे ।
कर्णालीका लागि बलिङमा दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैशी र दिपेन्द्र रावतले समान १-१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्