फिफा वर्ष फुटबलरको उपाधि मेस्सीलाई, आइताना बोनामाटी उत्कृष्ट महिला खेलाडी
काठमाडौंँ । अर्जेन्टिनाका लियोनल मेस्सीले फिफा वर्ष फुटबलको अवार्ड जितेका छन् । उनले पीएसजी र इन्टर मियामी क्लब तथा राष्ट्रिय टोलीका लागि गरेको प्रदर्शनको आधारमा यो पुरस्कार प्राप्त गरेका हुन् । मेस्सीले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन् ।
स्पेनकी आइताना बोनामाटीले महिला फुटबल अफ दि इयरको उपाधि जितेकी छन् । उनी बार्सिलोनाका लागि क्लब फुटबल खेल्छिन्। म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।
मेस्सीसँगै नर्वेका एर्लिङ ओलान्द र फ्रान्सका केलियन एमबाप्पे पनि वर्षको उत्कृष्ट फुटबलरको दौडमा थिए । एमबाप्पेले मतदानमा ३५ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे । हल्याण्डले मेसीसँग बराबर ४८ अंक जोडे । शीर्ष स्थान टाई भयो, त्यसपछि टाई-ब्रेकर प्रयोग गरिएको थियो।
पुरुष राष्ट्रिय टोलीका १३ कप्तानले मेस्सीलाई मत दिएका थिए भने हल्याण्डले ११ कप्तानको मत पाएका थिए । टाइब्रेकरमा २ अंकले अगाडि रहेका कारण मेस्सीलाई विजेता मानिएको थियो र उनले लगातार दोस्रो वर्ष फुटबलर अफ द इयरको अवार्ड जिते ।
स्पेनकी आइताना बोनामाटी वर्षको उत्कृष्ट महिला फुटबलर घोषित भइन् । उनले मतदानमा ५२ अंक प्राप्त गरिन् । उनले कप्तान, प्रशिक्षक, मिडिया र फ्यानबाट १३–१३ अंक पाइन्, जसका कारण उनी पहिलो नम्बरमा थिइन् । बोनामतिले सन् २०२३ को महिला 'बालोन ड ओर' पनि जितेकी थिइन् । 'बालोन डी ओर'लाई फुटबल उद्योगको सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार मानिन्छ।
महिलातर्फ कोलम्बियाकी लिन्डा काइसेडो ४० अंकका साथ दोस्रो र स्पेनकी जेनिफर हर्मोन्सो ३६ अंकका साथ तेस्रो भइन् । आइतानाले 'बालोन डी ओर', युइएफए वर्ष खेलाडी, विश्वकप गोल्डेन बल र यस वर्षको उत्कृष्ट फिफा खेलाडीको अवार्ड जितेकी छिन् । उनी एकै वर्ष चारवटै अवार्ड जित्ने पहिलो खेलाडी बनेकी छन् ।
ब्राजिलका गुइल्हर्मे माद्रुगालाई पुस्कास अवार्ड प्रदान गरिएको छ । यो पुरस्कार वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीलाई दिइन्छ । २७ जुन २०२३ मा मुद्रुगाले पेनाल्टी बक्स बाहिरबाट साइकल किक प्रहार गरेका थिए। यसलाई फिफाले 'गोल अफ दि इयर' घोषणा गरेको थियो ।
मिडफिल्डर माद्रुगाले सिरी बी लिगमा बोटाफोगो क्लबबाट खेल्दै नोभोरिजोन्टिनोविरुद्ध गोल गरेका थिए । पाराग्वेका जुलियो एन्सिको र पोर्चुगलका नुनो सान्तोस पनि 'गोल अफ दि इयर'को दौडमा थिए । माद्रुगा पुस्कास अवार्ड जित्ने तेस्रो ब्राजिलियन खेलाडी बनेका छन् । यसअघि सन् २०११ मा नेइमार र सन् २०१५ मा वेन्डेला लिराले पनि यो अवार्ड जितेका थिए ।
ब्राजिलका एडरसनले वर्षको उत्कृष्ट पुरुष गोलकिपरको अवार्ड जितेका छन् । उनले २३ अंक प्राप्त गरेका थिए । एडरसनले म्यानचेस्टर सिटी क्लबका लागि पनि गोलकिपिङ गर्छन्। गोलकिपरतर्फ बेल्जियमका थिबाउट कोर्टोइस २० अंकका साथ दोस्रो भए । मोरक्कोका यासिन बोनो १६ अंकका साथ तेस्रो स्थानमा रहे ।
महिला गोलकिपरमा इंग्ल्यान्डकी मेरी अर्प्स उत्कृष्ट साबित भइन् । उनी म्यानचेस्टर युनाइटेडका लागि क्लब फुटबल खेल्छिन्। दोस्रो स्थानकी प्रतिद्वन्द्वीभन्दा १४ अंकले अगाडि रहेकी मेरीले २८ अंक प्राप्त गरिन् । स्पेनकी क्याटालिना कौल (१४ अंक) दोस्रो र अस्ट्रेलियाकी म्याकेन्जी अर्नोल्ड (१२ अंक) तेस्रो भइन् ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । उनले २८ अंक प्राप्त गरे र इटालीका २ प्रशिक्षकलाई पछि पार्दै पहिलो स्थान हासिल गरे।
लुसियानो स्पालेटी (१८ अंक) र सिमोन इन्जाघी (११ अंक) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । स्पालेटी इटालीका मुख्य प्रशिक्षक हुन् भने इन्जाघीले सिरी 'ए' टिममा इन्टर मिलानको नेतृत्व गरिरहेका छन् ।
नेदरल्याण्ड्सकी सरिना वीगम्यानले वर्षको उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् । उनी हाल इङ्ल्यान्डको महिला टोलीको प्रशिक्षक हुन् । मतदानमा विगम्यानले २८ अंक प्राप्त गरेकी थिइन । इंग्ल्यान्डकी एम्मा हेस (१८ अंक) दोस्रो र स्पेनकी जोनाथन गेराल्डेज (१४ अंक) तेस्रो भइन् ।
अर्जेन्टिनाका ह्युगो ड्यानियल टोटो इनिगेजलाई फिफा फ्यान अवार्ड प्रदान गरिएको छ । टोटो आफ्नो २ महिनाको छोराको साथ आफ्नो टोलीलाई समर्थन गर्न मैदानमा आएका थिए। खेलको क्रममा टोटोले छोरालाई बोतलबाट दुध खुवाएको देखिएको थियो । उनको समर्थन र प्रेरणादायी कथालाई फिफाले सर्वश्रेष्ठ फ्यान श्रेणीबाट सम्मानित गरेको छ। त्यस्तै ब्राजिलियन पुरुष टिमले फेयर प्ले अवार्ड प्राप्त गरेको छ ।
ब्राजिलकी मार्टालाई फिफाको विशेष पुरस्कार प्रदान गरियो । मार्टाले ब्राजिलका लागि १ सय ७५ खेलमा १ सय १५ गोल गरेकी छन् । उनको क्यारियर उपलब्धिलाई संघले विशेष मानेको थियो र सन् २०२५ देखि उनको नाममा 'मार्टा अवार्ड' दिइनेछ । महिला फुटबलमा उत्कृष्ट गोल गर्ने खेलाडीले यो पुरस्कार पाउनेछन् ।

टिप्पणी लेख्नुहोस्