रोमाञ्चक टी–२० खेलमा जिम्बाब्वेले श्रीलंकालाई ४ विकेटले हरायो
काठमाडौँ । मंगलबार भएको रोमाञ्चक टी–२० खेलमा जिम्बाब्वेले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । अन्तिम ओभरमा जिम्बाब्वेलाई २० रन आवश्यक भएको बखत लुक जोङ्वे र क्लाइभ मदानेले मात्र ५ बलमा २४ रन बनाएर जिम्बाब्वेलाई जित दिलाए ।
दोस्रो टी–२० जितसँगै जिम्बाब्वेले ३ खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–२० श्रीलंकाले ३ विकेटले जितेको थियो । तेस्रो र अन्तिम टी–२० खेल १८ जनवरी कोलम्बोमा हुनेछ ।
आर प्रेमदासा स्टेडियममा भएको खेलमा जिम्बाब्वेले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको श्रीलंकाले २७ रनमा ४ विकेट गुमाएको थियो । पाथुम निसानका १, कुशल मेन्डिस ४ र सदिरा समरविक्रमाले १६ रन जोडे । कुशल परेराले खाता खोल्न सकेनन् ।
सुरुमा ४ विकेट गुमाएपछि श्रीलंकालाई माथी उकास्ने जिम्मा एन्जेलो म्याथ्युजसँगै चारिथ असालान्काले लिए । दुवैले शतकीय साझेदारी गर्दै टोलीलाई सय रनभन्दा माथि पुर्याएका थिए । अस्लान्का ३९ बलमा ६९ रन बनाएर आउट भएपछि यी दुईबीच ११८ रनको साझेदारी टुट्यो ।
असालान्कापछि पूर्व कप्तान दासुन शनाका पनि ९ रन बनाएर प्याभिलियन फर्किए । म्याथ्युजले आफ्नो अर्धशतक पूरा गर्दै टोलीको स्कोर १७३ रनमा पुर्याए । उनी ५१ बलमा ६६ रन बनाएर नटआउट रहे । कप्तान भानिन्दु हसरंगाले खाता खोल्न सकेनन् ।
जिम्बाब्वेका ब्लेसिङ मुजारबानी र लुक जोङवेले २–२ विकेट लिए । रिचर्ड नगारवा र वेलिंग्टन मासाकाड्जाले एक एक सफलता हात पारे ।
एक सय ७४ रनको लक्ष्य पछ्याएको जिम्बावेले चौथो ओभरमै पहिलो विकेट गुमाएको थियो । तर यहाँबाट क्रेग इरविन र ब्रायन बेनेटले ७४ रनको साझेदारी गरे । १३ औं ओभरमा बेनेट २५ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो ।
बेनेटपछि जिम्बाब्वेले लगातार विकेट गुमायो । कप्तान सिकन्दर रजा ८, शान विलियम्स १ र रायन बर्ल मात्र १३ रन बनाएर आउट भए । इरविनले आफ्नो अर्धशतक पूरा गरे र टोलीलाई जितको नजिक पुर्याए तर उनी पनि ७० रन बनाएर आउट भए। टोलीले १७.४ ओभरमा १४३ रन बनाएर ६ विकेट गुमाएको थियो ।
जिम्बाब्वेलाई अन्तिम १४ बलमा ३१ रन आवश्यक थियो । यहाँ ल्यूक जोङवे र विकेटकिपर क्लाइभ मदाने क्रिजमा थिए । दुवैले ८ बलमा ११ रन बनाए र अन्तिम ओभरमा टिमलाई २० रन आवश्यक थियो । श्रीलंकाका एन्जेलो म्याथ्युज अन्तिम ओभर बलिङ गर्न आएका थिए । लुक जोङ्वे र क्लाइभ मदानेले मात्र ५ बलमा २४ रन बनाएर जिम्बाब्वेलाई जित दिलाए ।
लुक जोङवेले १२ बलमा २५ रन बनाएर २ विकेट लिदै प्लेयर अफ द म्याचको अवार्ड पाए । खेलपछि उनले म्याथ्युजलाई आफ्नो रोल मोडलका रुपमा लिएर हुर्केको बताए ।

टिप्पणी लेख्नुहोस्