प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले लुम्बिनीलाई ६० रनले हरायो
भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको छ। भैरहवा स्थित सिद्धार्थ रंगशालामा १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई ४१.२ ओभरमा १ सय २४ रनमा अलआउट बनाउदै कर्णालीले जित सम्भव बनाएको हो ।
कर्णालीको जितमा ५६ रनको अविजित पारी खेलेका दिनेश अधिकारीले बलिङमा पनि सानदार प्रर्दशन गर्दै सर्वाधिक ३ विकेट लिए । यस क्रममा उनले ६ ओभर बलिङ गर्दै १ मेडन सहित १८ रन मात्र खर्चिए । त्यस्तै अनुज चनारा र दिपेन्द्र रावतले २-२ विकेट लिए । दिवान पुनले १ सफलता हात पारे ।
लुम्बिनीका लागि कृष्ण कार्की (४७), म्रिनल रावत (२२) तथा एमडी हुसेन र निर्मल गुरुङले समान १०-१० रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ८४ रन बनाएको थियो ।
टोलीका लागि दिनेश अधिकारीले ५९ बलमा अविजित ५६ रन बनाए । यस क्रममा उनले ६ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्र रावत (४७), हिमान्शु शाही (२५) र रविन्द्र शाहीले (११) रन बनाए ।
लुम्बिनीका लागि बलिङमा निर्मल गुरुङ र अभिषेक गौतमले ३-३ विकेट लिए । एमडी हुसेन, कृष्ण कार्की र अजय चौहानले १-१ सफलता हात पारे ।
प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो । यसअघि टोलीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्