लेख विवरण

अस्ट्रेलियन ओपन : १६ वर्षीया एन्ड्रिभाद्धारा विश्व नम्बर ६ जबेउर सोझो सेटमा पराजित

अस्ट्रेलियन ओपन : १६ वर्षीया एन्ड्रिभाद्धारा विश्व नम्बर ६ जबेउर सोझो सेटमा पराजित

काठमाडौंँ । अस्ट्रेलियन ओपन २०२४ को चौथो दिन १६ वर्षीया रुसी टेनिस खेलाडी मिरा एन्ड्रिभाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको दोस्रो चरणमा ओन्स जाबेउरलाई पराजित गरिन् । विश्व शीर्ष १० खेलाडीमाथि रुसी खेलाडीको यो पहिलो जित हो।

विश्व नम्बर ४७ खेलाडी एन्ड्रिभाले छैटौं वरियताकी जाबेउरलाई एक घण्टाभन्दा कम समयमै पराजित गरेकी हुन् ।

मेलबर्न पार्कमा आफ्नो पहिलो प्रतियोगिता खेल्ने क्रममा एन्ड्रीभाले तीन पटकको ग्रान्डस्लाम उपविजेतालाई ६-०, ६-२ को सोझो सेटमा ५४ मिनेटमा पराजित गरिन् । एन्ड्रिभा पहिलो पटक अष्ट्रेलियन ओपनमा सहभागी भएकी हुन । उनले गत वर्ष ग्रान्डस्लाममा डेब्यु गरेकी थिइन । उनी विम्बल्डन २०२३ को चौथो राउन्ड, फ्रेन्च ओपनको तेस्रो राउन्ड र युएस ओपनको दोस्रो राउन्डमा पुगेकी थिइन्।

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले बुधबार दोस्रो चरणको खेलमा अस्ट्रेलियाका एलेक्सी पोपिरिनलाई पराजित गरेका छन् । यो जितसँगै जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका छन् । रोड लेभर एरिनामा तीन घण्टा ११ मिनेटसम्म चलेको खेलमा जोकोभिचले ६-३, ४-६, ७-६, ६-३ को सोझो सेटमा जित निकालेका थिए ।

युएस ओपन च्याम्पियन कोको गफले स्वदेशी क्यारोलिन डोलेहाइडलाई ७-६, ६-२ ले पराजित गर्दै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । यसअघि अष्ट्रेलियन ओपनमा अमेरिकी युवा स्टार गफले उत्कृष्ट सुरुवात गरेकी थिइन । उनले महिला एकलको पहिलो चरणमा स्लोभाकियाकी अन्ना कारोलिना स्मिडलोभालाई ६-३, ६-० ले हराएकी थिइन्।

अस्ट्रेलियन ओपन वर्षको पहिलो ग्राण्ड स्लाम हो। अष्ट्रेलियाको लन टेनिस संघले सन् १९०५ मा यो प्रतियोगिता सुरु गरेको थियो, जसलाई पहिले अस्ट्रेलियन च्याम्पियनसिप भनिन्थ्यो। अष्ट्रेलियाको लन टेनिस संघ पछि टेनिस अस्ट्रेलिया भयो। त्यसपछि अस्ट्रेलियन च्याम्पियनसिपको नाम अस्ट्रेलियन ओपन राखिएको थियो । सन् १९६९ देखि यो टेनिस प्रतियोगिता आधिकारिक रूपमा अस्ट्रेलियन ओपनको रूपमा चिनिन थाल्यो।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.