लेख विवरण

फिल्डिङ गर्ने क्रममा घाइते भएका सूर्यकुमारको जर्मनीमा सफल शल्यक्रिया

फिल्डिङ गर्ने क्रममा घाइते भएका सूर्यकुमारको जर्मनीमा सफल शल्यक्रिया

काठमाडौंँ । सूर्यकुमार यादवको जर्मनीमा ग्रोइनको सफल शल्यक्रिया गरिएको छ । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । ग्रोइनइन्जुरीको दोस्रो शल्यक्रिया गरेका सूर्य एक साताभित्रै भारत फर्किने अपेक्षा गरिएको छ ।

शल्यक्रियापछि सूर्यकुमारलाई बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा रिह्याब गराइनेछ । जहाँबाट उनी यस वर्षको आइपिएलसम्म फिट हुने सम्भावना छ ।

विश्व नम्बर एक टी–२० ब्याट्सम्यान सूर्यकुमारको बुधबार म्युनिखमा विशेषज्ञ चिकित्सकको निगरानीमा शल्यक्रिया गरिएको छ । यसअघि केएल राहुलले सन् २०२२ मा म्युनिखमा स्पोर्ट्स हर्नियाको अप्रेसन गरेका थिए । राहुल एक महिनापछि फिट भएर खेल्न सुरु गरे पनि सूर्यालाई फिट हुन २ महिनासम्म लाग्न सक्छ ।

सूर्या गत महिना दक्षिण अफ्रिकामा टी–२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा घाइते भएका थिए । फिल्डिङका क्रममा उनको घुँडामा चोट लागेको थियो । त्यसपछि उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यो शल्यक्रियापछि उनको स्पोर्ट्स हर्नियाको पनि शल्यक्रिया गरिएको थियो । २ वटा सर्जरी हुने भएकाले उनलाई फिट हुन धेरै समय लाग्नेछ ।

क्रिकबजको रिपोर्टअनुसार सूर्यकुमार यस वर्षको आइपिएलका लागि फिट हुनेछन् । प्रतियोगिता मार्चको अन्तिम साताबाट सुरु हुने बताइएको छ । आइपिएल लगत्तै जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा टी–२० विश्वकप पनि सुरु हुनेछ । यसका लागि पनि सूर्य फिट हुनेछन् ।

नेसनल क्रिकेट एकेडेमी (एनसीए) ले भारतमा क्रिकेटरहरूको फिटनेस र प्रशिक्षणको हेरचाह गर्दछ। एनसीएले जनवरीमा सूर्यालाई शल्यक्रिया गर्न आग्रह गरेको थियो । किनभने उनी विश्वकप अघि पूर्ण रूपमा फिट हुन सकून्। उनी जर्मनी जानुअघि एनसीएमा रिह्याब गरिरहेका थिए।

जसप्रित बुमराह, श्रेयस अय्यर र केएल राहुललाई पनि गत वर्ष एनसीएको मार्गदर्शनमा शल्यक्रिया गरिएको थियो । तीनै जना खेलाडी केही महिना क्रिकेटबाट टाढा रहे, तर एकदिवसीय विश्वसम्म पूर्ण रूपमा फिट भए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.