प्रधानमन्त्री कप क्रिकेट : सुदुरपश्चिमले गण्डकीलाई १ सय ८ रनले हरायो
भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनले पराजित गरेको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा सुदुरपश्चिमले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा मात्र ९३ रन बनाउदै अलआउट भयो ।
सुदुरपश्चिमको जितमा बलिङ तर्फ शेर मल्लले ८.२ ओभरमा १ मेडन सहित २३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै गजेन्द्र बोहराले २ तथा भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले १-१ सफलता हात पारे ।
गण्डकीका लागि आश्विनी राणा (२५) र कमल परियारले (२२) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो ।
टोलीका लागि किरण ठगुनाले अर्धसतकीय पारी खेल्दै ७३ बलमा ६० रन बनाए । यस क्रममा उनले ५ चौंका प्रहार गरे । त्यस्तै नारायण जोशी (४६), शेर मल्ल (१९), राजु रिजाल (१६), टेक रावत (१५) नरेन साउद (१३) र मिलन बोहराले (९) रन बनाए ।
गण्डकीका लागि बलिङमा बिपिन खत्री र अंकित न्यौपानेले ३-३ विकेट लिए । कमल परियार अमृत गुरुङले २-२ सफलता हात पारे ।
जितसँगै सुदुरपश्चिम प्रदेश अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । सुदुरपश्चिमले ३ खेलमा ३ जित सहित ६ अंक बनाएको छ । यसअघि टोलीले कर्णाली र लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्