लेख विवरण

ग्रान्ड मास्टर दिवाकर 'डान' महर्जन अन्तर्राष्ट्रिय रेफ्री प्रथम श्रेणी एस वर्गमा पदोन्नति

ग्रान्ड मास्टर दिवाकर 'डान' महर्जन अन्तर्राष्ट्रिय रेफ्री प्रथम श्रेणी एस वर्गमा पदोन्नति

पोर्टल्याण्ड । अमेरिका निवासी ग्रान्ड मास्टर दिवाकर ’डान’ महर्जन विश्व तेक्वान्दो मुख्यालय (डब्लुटीएफ) अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी ’एस’ वर्गमा पदोन्नति भएका छन्।

तेक्वान्दोको हेडक्वाटर दक्षिण कोरिया स्थित कुकिवानद्वारा अन्तर्राष्ट्रिय रेफ्रीलाई प्रदान गरिएको यो सबै भन्दा विशिष्ट श्रेणी हो।

महर्जन झन्डै तीन दशक देखि अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्ड ‘युएस वल्डक्लास तेक्वान्दो हलिउड’ स्कुल सञ्चालन गर्दै आएका छन्। 'म तपाईँलाई अन्तर्राष्ट्रिय रेफ्री पदोन्नतिको नतिजा सूचित गर्न लेख्छु।' डब्लुटीएफका खेलकुद र इभेन्ट व्यवस्थापन (एसइएम) विभागका वरिष्ठ निर्देशक जे लीद्वारा प्रेषित इमेलमा भनिएको छ, 'विश्व तेक्वान्दोको तर्फबाट, तपाईँलाई डिसेम्बर ३१, २०२३ सम्ममा प्रथम श्रेणीबाट 'एस' श्रेणीमा बढुवा भएको जानकारी गराउन पाउँदा म सम्मानको महसुस गर्छु।’

तेक्वान्दोमा डब्लुटीएफको मान्यता प्राप्त अन्तर्राष्ट्रिय रेफ्री प्रथम श्रेणी एस वर्ग (विशेष श्रेणी) मा पदोन्नति हुन कम्तीमा दश वर्ष निरन्तर यो क्षेत्रमा काम गरेको हुनु पर्छ। त्यसै गरी कम्तीमा पनि १५ पटक रिफ्रेसर कोर्स पुरा गर्नु पर्ने हुन्छ।

सन् १९९५ देखि अमेरिकामा तेक्वान्दो प्रशिक्षक रहँदै आएका महर्जन सन् १९९९ एडमन्टन क्यानडामा पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए । नेपालमा भने उनले सन् १९८८ देखि राष्ट्रिय रेफ्रीको भूमिका निभाएका हुन्।

सन् २०२३ मा महर्जनले तेक्वान्दोमा दोहोरो आठौँ डान प्राप्त गरेका थिए। कोरियाको तेक्वान्दो मुख्यालय कुक्किवानबाट ८औँ डान तेक्वान्दो ब्ल्याक बेल्ट, कोरियाली मार्सल आर्ट्स फेडेरेसन कोरियाबाट हाप्किडोमा ८ औँ डान ब्ल्याक बेल्ट र लाइफ टाइम अचिभमेन्ट प्राप्त गरेका थिए।

उनी अघिल्लो वर्ष अमरेकी राष्ट्रपतिद्वारा आ–आफ्नो क्षेत्रबाट समाजलाई उल्लेख्य योगदान प्रदान गरे बापत दिइने प्रेसिडेन्ट अवार्डबाट सम्मानित भएका थिए।

महर्जन गैर नाफामूलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को संस्थापक तथा बोर्ड निर्देशक हुन्।

सन् २००० देखि काठमाडौँबाट सुरु भएको आईओएफटीसीको हेडक्वाटर अमेरिकाको पोर्टल्याण्डमा छ। विश्वका विभिन्न देशमा आयोजना भएको च्याम्पियनसिपको १४ संस्करण कोरियाको सियोलमा हुने तय भएको छ। १४औँ अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप अगस्ट २३–२४ मा हुने छ।

महर्जनले आफूले मिहेनतको फल पाएको प्रतिक्रिया दिए। "मेरो जीवन नै तेक्वान्दोमा बित्यो अब पनि मैले यसको विकल्प देखेको छैन, मैले निरन्तर आफ्नो काम गरी रहे सायद आज त्यसैको प्रतिफल पाएको हुँ।" उनले भने।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.