प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशले कर्णालीलाई ६१ रनले हरायो
काठमाडौंँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश प्रदेशले कर्णालीलाई ६१ रनले पराजित गरेको छ ।
मधेशले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा १ सय ७० रन बनाउदै अलआउट भयो । कर्णालीलाई रोक्न मधेशका राजेश यादवले ६ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । त्यस्तै प्रदिप पासवानले २ तथा रुपेश सिंह, अभिषेक तिवारी, रंजीत कुमार, हरि शंकर साह र पवन सर्राफले समान १-१ विकेट लिए ।
कर्णालीका लागि अर्जुन घर्तिले अर्धसतक प्रहार गर्दै ५८ रन बनाए । दिनेश अधिकारी (३३), बिपिन शाही (३१) र प्रकाश जैसीले (१४) रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ३१ रन बनाएको थियो । टोलीका लागि कप्तान हरि शंकर साह र मयन यादवले अर्धसतकीय पारी खेले । हरिले ६१ बलको सामना गर्ने क्रममा ६ चौंकाको मद्दतमा ५० रन बनाए । त्यस्तै मयनले ८८ बलको सामना गर्ने क्रममा ५ चौंकाको मद्दतमा ५० रन बनाए । अनिल साह (४४), अभिषेक तिवारी (३४), राुहल मंडल (१०) तथा पवन सर्राफ र राजेश यादवले समान ११-११ रन बनाए । प्रदिप पासवान (११) र रंजीत कुमार (१) रनमा अविजित रहे ।
कर्णालीका लागि बलिङमा दिपेन्द्र रावतले सर्वाधिक ४ विकेट लिए । अनुज चुनारा २ तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले समान १-१ विकेट लिए ।
जारी प्रतियोगितामा मधेश प्रदेशको यो तेस्रो जित हो । जितसँगै मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

टिप्पणी लेख्नुहोस्