टेबलटेनिसमा श्रृजना ज्ञान सागर अब्बल
काठमाडौंँ । श्रृजना ज्ञान सागरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत टेबलटेनिस प्रतियोगितामा समावेश तीनै स्पर्धाको स्वर्ण शनिबार जितेको छ ।
शेषमति सानो पुलस्थित श्रृजना ज्ञान सागरमा भएको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सन्तोष थापाले प्रगतिका उदिप तामाङलाई ११–६, ११–६ र ११–१ को सोझो सेटमा पराजित गरे । कौशलका निशान बुढाथोकी र सेबका रोशन पौडेल तेश्रो भए ।
गर्ल्स सिंगल्सको फाइनलमा विपिना थापाले हिमरश्मिकी अञ्जली गुरुङलाई सीधा सेटमा ११–३, ११–४ र ११–५ ले हराइन् । सेबकी रचेल थापा मगर र प्रगतिकी गंगा मगर तेश्रो बने ।
मिक्स डबल्समा सुप्रिया बोगटी र आकाश सिलवालको जोडी पहिलो, प्रगतिका युजिना गुरुङ र सुप्रिम सिलवालको जोडी दोश्रो तथा कौशलका तारा तामाङ र अतित श्रेष्ठ/हिमरश्मिका अञ्जली बानियाँ र आदर्श थिङको जोडी तेश्रो भए । श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँलका अनुसार टेबलटेनिसमा १३ विद्यालयका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
योसंगै ओप्स खेलकुदअन्तर्गत तीन खेलको प्रतियोगिता पूर्ण रुपमा सम्पन्न भएको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्वाइज फुटबल र एथलेटिक्सको प्रतिस्पर्धा सुरु हुनेछ । गर्ल्स फुटबल भने सम्पन्न भइसकेको छ । गर्ल्स फुटबलमा हिमरश्मि च्याम्पियन बनेको थियो ।

टिप्पणी लेख्नुहोस्