अस्ट्रेलियन खेलाडी सुपरम्यान बनेपछि अम्पायरपनि छक्क
काठमाडौंँ । बिग ब्यास लिगका प्रायः खेलहरु कुनै न कुनै तरिकाबाट सोसल मिडियामा भाइरल भइरहेका हुन्छन् । अहिले सोसल मिडियामा एउटा यस्तै भिडियो भाइरल भइरहेको छ, जसमा अष्ट्रेलियाका म्याक्स ब्रायन्ट फिल्डिङ गर्ने क्रममा सुपरम्यानजस्तै उफ्रँदै बललाई रोकेका छन् । ब्रायन्टको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रायन्टले छक्का हुने बललाई यसरी रोके कि अम्पायरले समेत विश्वास गर्न सकेनन् । अम्पायरले पनि यो भिडियो पटक–पटक प्ले गरेर हेरेका थिए ।
यो भिडियो सन् २०२१ को बिग ब्यास लिगको हो । लिगको ३२ औं खेल मेलबर्न स्टार्स र ब्रिसबेन हीट्सबीच भएको थियो। खेलमा मेलबर्न स्टार्सले ब्याटिङ गर्ने क्रममा नवौं ओभरमा म्याक्स ब्रायन्टको उत्कृष्ट फिल्डिङ प्रयास देखिएको थियो । मेलबर्नका ब्याट्सम्यान निक लार्किनले उक्त ओभरको बलमा उत्कृष्ट सट प्रहार गरेका थिए । सट यति बलियो थियो कि मैदानमा उपस्थित सबैले यो छक्का हुन्छ भन्ने सोचेका थिए, तर त्यसो हुन सकेन । बाउन्ड्रीमा फिल्डिङ गरिरहेका ब्रायन्ट सुपरम्यान जस्तै उफ्रिए र लगभग बाउन्ड्रीभित्र पसेर बललाई आफ्नो हातले भित्र धकेलिदिए । भुइँमा शरीरको कुनै पनि भाग छुनुअघि ब्रायन्टले बललाई बाउन्ड्रीभित्र फ्याँकेका थिए, जसका कारण यो बल छक्का हुन सकेन । ब्याट्सम्यान, खेलाडी, समर्थक र मैदानमा रहेका कमेन्टेटरसमेतले म्याक्स ब्रायन्टले गरेको प्रयास देखेर छक्क परे । यो भिडियो ब्रिसबेन हीट टिमको सोसल मिडिया अकाउन्टमा पोस्ट गरिएको छ ।
खेलको कुरा गर्ने हो भने ब्रिसबेन हीटले मेलबर्न स्टार्सलाई १७ रनले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको ब्रिसबेनले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ११५ रन बनाएको थियो । वर्षाका कारण खेल प्रभावित भएपछि मेलबर्नले जितका लागि १० ओभरमा १ सय २९ रन बनाउनु पर्ने भयो । तर टोलीले १० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । स्टार्सका लागि निक लार्किनले अविजित ३५ रन बनाए भने स्टोइनिसले ३४ रन बनाए ।

टिप्पणी लेख्नुहोस्