टी–२० विश्वकपअघि अस्ट्रेलियाका यी खेलाडीले बनाए ४१ बलमा शतक
काठमाडौंँ । सन् २०२४ टी–२० विश्वकपका लागि निकै विशेष रहेको छ । टी–२० विश्वकप यसै वर्षको जुन महिनामा हुने भएको छ । यही कारण लगभग सबै टोलीले टी–२० क्रिकेटमा बढी ध्यान दिइरहेका छन् । अष्ट्रेलियाले पनि वेस्ट इन्डिजसँग फेब्रुअरी ९ देखि टी–२० सिरिज खेल्ने भएको छ । अष्ट्रेलियाका केही खेलाडीहरु बीबीएल पनि खेलिरहेका छन् । यसैबीच टी–२० विश्वकप सुरु हुनुअघि नै अष्ट्रेलियाले बीबीएलमा बलियो शतक प्रहार गर्ने खेलाडी पाएको छ । यी खेलाडीले मात्र ४१ बलको सामना गर्दै शतक प्रहार गरेका छन् ।
ब्रिसबेन हीटका ओपनर जोस ब्राउनले सोमबार साँझ एडिलेड स्ट्राइकर्सविरुद्ध करियरकै उत्कृष्ट १४० रन बनाउँदै बिग ब्यास लिगको इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका छन् । क्यारारा स्टेडियममा ५७ बलमा १२ छक्का र १० चौका प्रहार गर्दै ३० वर्षीय ब्राउनले कीर्तिमानी १२ छक्का र १० चौका प्रहार गरे । यो बीबीएलको इतिहासमा तेस्रो उच्च स्कोर हो । यो इनिङसँगै उनले आफ्नो टिमलाई फाइनलसम्म पनि पुर्याएका छन् ।
ब्राउन र हीटका कप्तान नाथन म्याकस्विनीले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गर्दै घरेलु टोलीलाई २१४ रन को क्षतिमा ७ विकेटको बलियो स्कोरमा पुर्याएका थिए । दायाँ हाते ब्याट्सम्यान ब्राउन बिग ब्यासमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानबाट चुकेका थिए । सन् २०१४ मा क्रेग सिमन्सले स्ट्राइकर्सविरुद्ध ३९ बलमा शतक प्रहार गरेका थिए भने जोस ब्राउन उनको किर्तिमान भङ गर्नबाट मात्र दुई बलले चुके ।
खेलमा ब्राउन अन्ततः १७ औं ओभरमा स्ट्राइकर्सका तीव्र गतिका बलर डेभिड पायनेको सिकार भए । उनको एउटा बल गोल्ड कोस्टको आकाशको टुप्पोमा गयो र विकेटकिपर ह्यारी निल्सनले क्याच लिए । यसबाहेक उनले बीबीएलको एक इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् । च्यालेन्जरको विजेताले बुधबार साँझ एससीजीमा हुने फाइनलमा सिड्नी सिक्सर्सको सामना गर्नेछ ।

टिप्पणी लेख्नुहोस्