लेख विवरण

महिला यु १९ राष्ट्रिय क्रिकेटमा गण्डकी र सुदूरपश्चिम विजयी

महिला यु १९ राष्ट्रिय क्रिकेटमा गण्डकी र सुदूरपश्चिम विजयी

चितवन । मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातर दोस्रो जित निकालेको छ। गण्डकीले आज भएको आफ्नो दोस्रो खेलमा कोशी प्रदेशविरुद्ध ७ विकेटको फराकिलो जित निकालेको हो।

कोशीले यसअघि शुक्रबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध पनि ७ विकेटको जित निकालेको थियो। चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा १२ ओभरमा घटाइएको खेलमा कोशीले दिएको ५९ रनको लक्ष्य गण्डकीले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

गण्डकीको जितमा सीमाना केसीले नटआउट २३ रनको योगदान गरिन्। ३२ बल खेलेकी सीमानाले एक छक्कासहित २३ रन बनाइन्। ज्योत्सनिका मरासिनी १८ बलमा २१ रन बनाएर आउट भइन्। ज्योत्सनिकाले ३ चौका प्रहार गरिन्। कप्तान कुसुम गोदार ५ रनमा नटआउट रहिन्। कोशीकी भवानी कमातीले ३ ओभरमा ९ रन खर्चिदै २ विकेट लिइन्। रिया शर्माले एक विकेट हात पारिन्।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १२ ओभरमा ३ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो। कोशीकी पुर्णिमा राजवंशीले १५ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कोशीले २६ अतिरिक्त रन पाएको थियो। गण्डकीकी कप्तान कुसुम गोदार, निरुता जिटी र आकृति तिवारीले एक-एक विकेट हात पारे। नटआउट २३ रन बनाएकी गण्डकीकी सीमाना प्लेयर अफ दि म्याच भइन्।

आजै भएको अर्को खेलमा सुदुरपश्चिमले जित हात पारेको छ । सुदुरपश्चिमले मधेश प्रदेशलाई पराजित गरेको हो। जारी प्रतियोगितामा दुई खेल खेलेको सुदुरपश्चिमको यो पहिलो जित हो । सुदुरपश्चिम पहिलो खेलमा गण्डकीसँग पराजित भएको थियो। मधेसको भने यो पहिलो खेल हो।

पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मधेसलाई ६ विकेटले निराश बनायो। मधेसले दिएको एक सय ३ रनको लक्ष्य सुदूरपश्चिमले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सावित्री धामीले नटआउट ४३ रन बनाइन्। ४४ बल खेलेकी सावित्रीले ६ चौका प्रहार गरिन्। ओपनर नीलम पाण्ड्यले ४० बलमा २२ रन बनाईन् । मधेसकी मीना महतोले २ तथा प्रतिमा शाहले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५ रन बनाएको थियो। मधेसका लागि ओपनर साना प्रविनले सर्वाधिक ३४ रन बनाईन् । ४९ बल खेलेकी सानाले ४ चौका प्रहार गरिन्। एलिसा यादवले २९ बलमा २३ तथा अर्की ओपनर सीमा कुवँरले २० बलमा १२ रन जोडिन्। सुदूरपश्चिमकी अनु कडायतले २ तथा कारिश्मा थापा र स्नेहा महराले एक-एक विकेट लिए।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछ। पहिलो खेलमा बिहान ९ः३० बजे कर्णाली प्रदेश र बागमती प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १ः३० बजे मधेस कोशीबीच हुनेछ। नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा ७ टोली सहभागी छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.