लेख विवरण

अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्डलाई

अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्डलाई

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ ।

स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो ।

यही माघ १८ गतेदेखि गैँडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा अक्सफोर्डले जनक नमूना माविलाई २–१ गोलले हराएको हो । प्रतियोगिताको सुरुआती समयमा अक्सफोर्डका राजीव तामाङले गोल गर्दै लिएको अग्रता दोस्रो हाफमा जनकका विकास सारुले गोल गरेपछि बराबरी भएको थियो । निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल गरी खेल बराबरी पारेपछि प्रतियोगितामा अतिरिक्त समय थप गरिएको थियो ।

थप गरिएको अतिरिक्त समयको सदुपयोग गर्दै अक्सफोर्डका रिजन कँडेलले गोल गरेर उपाधि रक्षा गर्न सफल भए । अक्सफोर्ड कलेजले उपाधिसँगै रु ६६ हजार छ सय ६६ जितेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको जनक नमूना माविले रु ३३ हजार तीन सय ३३ हात पारेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.