माउन्टेन बाइक च्यालेन्ज : इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतमा हुने
काठमाडौंँ । माउन्टेन बाइक च्यालेन्जको रुपमा रहेको इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतको पहिलो साता हुने भएको छ । सोलुखुम्बुको फाप्लुस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता चैत १ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक फाप्लु माउन्टेन बाइक क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो संस्करणको प्रतियोगितामा नेपाल सहित विश्वभरका माउन्टेन बाइकका उत्कृष्ट खेलाडी सहभागी हुने बताइएको छ ।
चैतमा हुने दोस्रो संस्करणमा इन्डुरो विश्व सिरिजका शीर्ष राईडर रेमी अबासलोन, ह्युगो पेगियन र एमेरिक लेन्जर लगायत सहभागी हुने आयोजकले जानकारी दिएको छ । फाप्लु माउन्टेन बाईक क्लबले जिरो लेभल माउन्ट स्कुल र सोलुखुम्बु दुधकुण्ड नगरपालिकासँग मिलेर यो प्रतियोगिता आयोजना गरेको हो ।
इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करणमा समेत इलिट मेन्स, वुमन्स, मास्टर्स र जुनियर्स गरि ४ विधा समावेश गरिएको छ । विजेतालाई आयोजकले नगद पुरस्कार सहित गिफ्ट ह्यामपरको ब्यवस्था गरेको छ । विश्वस्तरका माउन्टेन बाइक राइडर्सलाई समावेश गरेर प्रतियोगिता आयोजना गरेर पर्यटकीय गन्तब्यको रुपमा रत्नाङ्गेलाई चिनाउने उद्धेश्यले यस प्रतियोगिताको आयोजना गरिएको रेस डाइरेक्टर उमंग श्रेष्ठले बताए । उनले प्रतियोगितालाई लिएर माउन्टेन बाईक राइसर्डमा देखिएको उत्साहले आफुहरुलाई थप प्रोत्साहन गरेको उल्लेख गरे । चैत १ र २ गते अभ्यास सत्र हुनेछ र बाँकी दुई दिन चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई शेर्पा आउटडोरको केटीएम सिटीले सहयोग गरेको छ ।

टिप्पणी लेख्नुहोस्