साउदी प्रो लिगमा दर्शकले मेस्सी–मेस्सीको नारा लगाएपछि रोनाल्डो रिसाए
काठमाडौंँ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वका उत्कृष्ट फुटबलर मानिन्छ तर यी दुईबीचको प्रतिद्वन्द्वी पनि निकै पुरानो छ । बिहीबार राति साउदी प्रो लिगको खेलमा यो देखियो। अल नासरले लिगको शिर्ष स्थानमा रहेको अल हिलालको सामना गरिरहेको थियो। खेलमा अल नासरबाट खेलिरहेका रोनाल्डोले दर्शकले मेस्सी–मेस्सीको नारा लगाएपछि रिसाएका थिए । खेलमा रोनाल्डोको टोली अल नासरले हार बेहोरेको थियो ।
खेलको क्रममा विपक्षी टिम अल हिलालका समर्थकले रोनाल्डोलाई जिस्काउन मेसी–मेसीचिच्याउन थाले । यद्यपि रोनाल्डोले केही समयका लागि यसलाई सहन गरे, तर जब मेसीको नामको नारा तीव्र भयो, यी स्टार फुटबलरले रिसाउँदै प्रतिक्रिया दिए र भने, 'म यहाँ छु, मेसी होइन।' रोनाल्डोको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
खेलमा रोनाल्डो चोटबाट निको भएर मैदानमा फर्किए पनि उनको प्रदर्शन राम्रो भएन । अल नासर अल हिलालसँग ०-२ ले पराजित भयो। खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । पछिल्लो पाँच खेलमा अल नासरको यो पहिलो र प्रतियोगितामा समग्रमा तेस्रो हार हो।
अल हिलालले अपराजित कीर्तिमान कायम गर्दै शीर्ष स्थानमा आफ्नो स्थिति बलियो बनाएको छ । टोलीले १९ खेलमा १७ जित र दुई बराबरी खेलेको छ । टोली ५३ अंकका साथ शीर्ष स्थानमा छ भने अल नासर ४६ अंकसहित दोस्रो स्थानमा छ ।
अल हिलालको जितका नायक सर्गेई मिलिन्कोभिच साभिचले १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३०औं मिनेटमा सलेम अल्दावासिरीले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

टिप्पणी लेख्नुहोस्