लेख विवरण

ह्यामिल्टन टेस्ट : न्युजिल्याण्ड २११ रनमा अलआउट

ह्यामिल्टन टेस्ट : न्युजिल्याण्ड २११ रनमा अलआउट

काठमाडौंँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा न्युजिल्यान्डले २ सय ११ रन मात्र बनाउन सक्यो । बलिङतर्फ दक्षिण अफ्रिकाका डेन पिटले ५ विकेट लिए भने डेन प्याटरसनले ३ विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय ४२ रन बनाएको थियो । जसकारण उसले खेलमा ३१ रनको अग्रता लिएको छ ।

ह्यामिल्टनको सेडन पार्क स्टेडियममा मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । टोलीले बुधबार पनि आफ्नो इनिङ्सलाई २२०/६ रन बनाएर जारी राखेको थियो । रुआन डी स्वार्ट ६४ रन बनाएर आउट भए भने शान भोन बर्ग ३८ रन बनाएर आउट भए । त्यसपछि पिट ४ र प्याटरसन खाता नखोली नै प्याभिलियन फर्किए ।

टोली ९७.२ ओभरमा २४२ रनमा सिमित भयो। न्यूजिल्याण्डका लागि डेब्यु खेल खेल्दै विलियम ओ’रर्कले ४ विकेट लिए । रचिन रविन्द्रले ३ सफलता हात पारे । टिम साउथी, म्याट हेनरी र निल वाग्नरले समान एक एक विकेट लिए ।

पहिलो इनिङ्समा न्यूजिल्याण्डको सुरुवात खराब रह्यो । टोलीले पहिलो ओभरमै ओपनर डेभोन कोनवेको विकेट गुमाएको थियो । कन्वेले खाता पनि खोल्न सकेनन् । त्यसपछि नम्बर ३ मा आएका गरेका केन विलियम्सनले टम लाथमसँग ७४ रनको साझेदारी गरे ।

लाथम ४० रन बनाएर पिटको शिकार बने भने विलियम्सन पनि ४५ रन बनाएर पिटको बलमा क्याच आउट भए । टिमले ८६ रनको स्कोरमा ३ विकेट गुमाएको थियो ।

१०० रनमा ३ विकेट खसेपछि रचिन रविन्द्र र विल योङसँग मिलेर न्युजिल्याण्डको पारी सम्हालेका थिए । दुवैले टोलीलाई सय रनभन्दा माथि पुर्याएका थिए । रचिन २९ रन बनाएर आउट भएपछि दुवैबीचको ५९ रनको साझेदारी टुट्यो ।

चौथो विकेट झर्ने बित्तिकै टोलीले लगातार विकेट गुमाउन थाल्यो । टम ब्लन्डेल ४, ग्लेन फिलिप्स ४, म्याट हेनरी १०, टिम साउथी ५ र योङ ३३ रन बनाएर आउट भए ।

न्युजिल्याण्डले १८३ रनको स्कोरमा ९ विकेट गुमाएको थियो । यहाँबाट १० नम्बरका ब्याट्सम्यान निल वाग्नरले २७ बलमा ३३ रन बनाएर टिमलाई २०० रनभन्दा माथि पुर्याए । उनले आफ्नो इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे । उनको विकेटसँगै न्युजिल्यान्डको इनिङ्स समाप्त भयो।

डेब्यु गरेका ओ’रर्के २० बलमा खाता नखोल्दै नटआउट रहे । न्युजिल्यान्डले ७७.३ ओभरमा २११ रन बनाएको थियो भने पहिलो इनिङ्समा दक्षिण अफ्रिकाको स्कोर भन्दा ३१ रनले पछि रहेको छ ।

दक्षिण अफ्रिकाका अफ स्पिनर डेन पिटले ८९ रन दिएर ५ विकेट लिए । फास्ट बलर डेन प्याटरसनले ३९ रन दिएर ३ विकेट लिए । एक सफलता चेफो मोरेकीले पाए । भोन बर्ग र डी स्वार्टले कुनै सफलता हासिल गर्न सकेनन् भने न्युजिल्याण्डका २ ब्याट्सम्यान रनआउट भए ।

२ टेस्टको सिरिजमा न्यूजिल्याण्ड १–० ले अगाडि छ । टोलीले पहिलो खेल २८१ रनले जितेको थियो । पहिलो खेलमा दोहोरो शतक प्रहार गर्ने रचिन रविन्द्र खेलको प्लेयर अफ द म्याच भएका थिए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.