राजकोट टेस्टका लागि इङ्ल्यान्डको टोली घोषणा : स्टोक्सले करियरको १०० औं टेस्ट खेल्दै
काठमाडौंँ । इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टका लागि प्लेइङ–११ घोषणा गरेको छ । तीव्र गतिका बलर मार्क वुडले अफ स्पिनर शोएब बशीरको स्थान लिएका छन् । उनीसँगै जेम्स एन्डरसन पनि टोलीमा छन् ।
इंग्लिस टोलीमा टम हार्टले र रेहान अहमद दुई स्पिनर हुनेछन् । उनीसँगै जो रुटले पनि पार्टटाइम अफ स्पिन गर्नेछन् । टेष्ट सिरिजको तेस्रो खेल १५ फेब्रुअरीदेखि राजकोटमा हुनेछ । ५ खेलको सिरिज अहिले १–१ को बराबरीमा छ । सिरीजको पहिलो खेल इंग्ल्यान्ड र दोस्रो खेल भारतले जितेको थियो ।
इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले राजकोटमा आफ्नो टेस्ट करियरको १०० औं म्याच खेल्ने भएका छन् । उनीबाहेक इंग्ल्याण्डका लागि ४१ वर्षीय जेम्स एन्डरसन र ३३ वर्षीय जो रुटले १०० भन्दा बढी टेस्ट खेलेका छन् ।
अर्कोतर्फ भारतको वर्तमान टोलीका कुनै पनि खेलाडीले १०० टेस्ट खेल्न सकेका छैनन् । ९७ टेस्ट खेलेका अफ स्पिनर रविचन्द्रन अश्विन टोलीमा सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले राजकोटमा आफ्नो करियरको ९८ औं टेस्ट खेल्नेछन् ।
इंग्ल्यान्डले दोस्रो टेस्टको प्लेइङ–११ एक मात्र खेलाडी परिवर्तन गरेको छ । टोलीका सबै ब्याट्सम्यानहरुले आफ्नो स्थान कायम राख्न सफल भएका छन् । टोलीका शीर्ष तीन ब्याट्सम्यानमा ज्याक क्राउली, बेन डकेट र ओली पोप रहेका छन् । मध्यक्रममा जो रुट, जोनी बेयरस्टो र स्टोक्स रहनेछन् । बेन फोक्सले विकेटकिपिङ गर्नेछन् ।
२० वर्षीय अफ स्पिनर शोएब बशीरले तेस्रो टेस्ट खेल्ने छैनन् । उनले भारतविरुद्धको दोस्रो टेस्टबाट डेब्यु गरेका थिए र दुवै इनिङमा ४ विकेट लिएका थिए । रिपोर्टका अनुसार तेस्रो टेस्टको पिचमा घाँस हुनेछ, जुन पेसरका लागि उपयोगी हुनेछ । त्यसैले इंग्ल्यान्डले एक स्पिनरलाई बाहिर राखेर पेसरलाई प्लेइङ–११ मा स्थान दियो ।
मार्क वुडले सिरिजको पहिलो खेल भारतविरुद्ध खेलेका थिए । उनी खेलमा इंग्ल्याण्डका एक मात्र तीव्र गतिका बलर थिए, तर कुनैपनि विकेट लिन सकेनन्। दोस्रो खेलमा, उनको स्थानमा जेम्स एन्डरसन टोलीमा स्थान दिइएको थियो। एन्डरसनले विकेट लिएका कारण उनलाई तेस्रो टेस्टको प्लेइङ–११ मा पनि समावेश गरिएको छ । अब दुवै तीव्र गतिका बलर राजकोटमा सँगै खेलिरहेका देखिनेछन् ।
तेस्रो टेस्टका लागि इंग्ल्याण्डको प्लेइङ–११ : बेन स्टोक्स (कप्तान), ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रूट, जोनी बेयरस्टो, बेन फोक्स (विकेटकीपर), रेहान अहमद, टम हार्टली, मार्क वुड र जेम्स एन्डरसन।

टिप्पणी लेख्नुहोस्