ट्रेन्ट बोल्टले अष्ट्रेलियाविरुद्ध टी–२० खेल्ने, डेरिल मिचेल बाहिर
काठमाडौंँ । न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजका लागि टोली घोषणा गरेको छ । बायाँ हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्ट टी–२० विश्वकपको तयारीमा जुट्न भनेर टोलीमा फर्किएका छन् ।
कप्तान केन विलियम्सन आफ्नो तेस्रो सन्तानको जन्मका लागि बिदामा बस्ने भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा घाइते भएका डेरिल मिचेलले अस्ट्रेलियाविरुद्ध खेल्न नपाउने भएका छन् ।
बोल्ट हाल युएईमा एमआई इमिरेट्स टोलीका लागि आईएलटी २० खेलिरहेका छन्। उनको टोली प्लेअफमा पुगेको छ । प्रतियोगिताको फाइनल फेब्रुअरी १९ मा हुने भएकाले उनले अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० खेल्न पाउने छैनन् । उनलाई दोस्रो र तेस्रो खेलका लागि टोलीमा समावेश गरिएको छ । उनले टिम साउथीको स्थान लिनेछन्, जो पहिलो टी–२० आईका लागि मात्र टोलीमा रहेका छन् ।
ट्रेन्ट बोल्ट न्युजिल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेकाले उनी अहिले दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलिरहेका छैनन् । उनले एकदिवसीय विश्वकपमा भारतविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
बोल्टले १५ महिनाअघि सन् २०२२ को नोभेम्बरमा अन्तिम टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज नखेल्ने भएका छन् । उनले आफ्नो तेस्रो बच्चाको जन्मको लागि पितृत्व अवकाशको माग गरेका थिए, जुन स्वीकृत भएको छ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा घाइते भएका डेरिल मिचेलले अस्ट्रेलियाविरुद्ध खेल्न नपाउने भएका छन् । मिचेल विगत ६ महिनादेखि चोटसँग जुधिरहेका छन् । अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलाका लागि फिट हुनका लागि उनलाई रिकभर हुन समय दिइएको छ ।
डेरिल मिचेलको स्थानमा न्युजिल्यान्डले २७ वर्षीय अलराउण्डर जोस क्लार्कसनलाई टोलीमा मौका दिएको छ । क्लार्कसनले एकदिवसीय क्रिकेटमा डेब्यु गरे पनि उनले अहिलेसम्म टी–२० म्याच खेल्न पाएका छैनन् । सन् २०२० देखि उनले घरेलु टी–२० क्रिकेटमा १६० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् ।
विलियम्सनको अनुपस्थितिमा बायाँ हाते स्पिन अलराउण्डर मिचेल सान्टनरले न्युजिल्याण्डको कप्तानी सम्हाल्नेछन् । उनले पाकिस्तानविरुद्धको शृंखलाको अन्तिम खेलमा पनि टोलीको नेतृत्व सम्हालेका थिए । उनको साथमा रचिन रविन्द्र र ग्लेन फिलिप्स ले स्पिन बलिङ अलराउन्डरको भूमिका निर्वाह गर्नेछन् ।
बंगलादेश प्रिमियर लिग (बिपिएल) खेलिरहेका जिम्मी निशाम र घाइते अलराउण्डर माइकल ब्रेसवेल छनोटका लागि उपलब्ध भएनन् । फिट लोकी फर्गुसनले टोलीमा आफ्नो स्थान बनाउन सफल भए। उनले बेन सियर्सको स्थान लिएका छन् ।
अष्ट्रेलियाले न्युजिल्यान्डमा टी–२० र टेष्ट सिरिज खेल्नेछ । यी दुई टोलीबीच फेब्रुअरी २१, २३ र २५ मा तीन टी–२० खेल हुनेछ । पहिलो खेल वेलिंग्टनमा हुनेछ भने बाँकी दुई खेल अकल्याण्डमा हुनेछ । टेस्ट सिरिजका दुई खेल फेब्रुअरी २९ र मार्च ८ मा सुरु हुनेछन् । पहिलो खेल वेलिंग्टनमा र दोस्रो खेल क्राइस्टचर्चमा हुनेछ ।
अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजका लागि न्युजिल्यान्डको टोली :
मिचेल सान्टनर (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट (दोस्रो र तेस्रो टी–२०), मार्क च्यापम्यान, जोस क्लार्कसन, डेभोन कोन्वे (विकेटकिपर), लक्की फर्गुसन, एडम मिल्ने, म्याट हेनरी, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, टिम सेफर्ट (विकेटकीपर), टिम साउदी (पहिलो टी–२०) र इश सोधी ।

टिप्पणी लेख्नुहोस्