लेख विवरण

अभ्यास सत्रपछि कोठामा अचेत अवस्थामा भेटिएकी टेनिस खेलाडीको मृत्यु

अभ्यास सत्रपछि कोठामा अचेत अवस्थामा भेटिएकी टेनिस खेलाडीको मृत्यु

काठमाडौंँ । पाकिस्तानकी एक युवा टेनिस खेलाडीको मृत्यु भएको छ । इस्लामावादमा जारी आइटिएफ जुनियर टुर्नामेन्टको पूर्वसन्ध्यामा अभ्यास सत्रपछि आफ्नै कोठामा लडेर जैनब अली नक्वी अचेत भएकी थिइन् । १७ वर्षीय ती किशोरको सोमबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । अभ्यास सकेर कोठामा फर्कंदा जैनब आफ्नी हजुरआमासँगै थिइन्। जैनब अचेत भएपछि उनकी हजुरआमाले सहयोग मागेकी थिइन् ।

पाकिस्तान टेनिस फेडेरेसन (पीटीएफ) ले यस घटनाप्रति दुःख व्यक्त गरेको छ । "यो निकै दुःखद कुरा हो किनभने जैनब महिला टेनिसकी निकै होनहार खेलाडी थिइन् । उनले आईटीएफ जुनियर प्रतियोगिताहरू जित्न उत्साहपूर्वक कडा मेहनत गरिरहेकी थिइन्।" इस्लामावादको एक अस्पतालमा पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको एक प्रहरी अधिकारीले बताएका छन् ।

"डाक्टरहरुले हृदयाघातको आशंका गरेका छन् र यसलाई मृत्युको प्राकृतिक कारण भनेका छन्। उनका आमाबाबुले पनि पोष्टमार्टम गर्न चाहेनन् र खेलाडीको शव कराँची फिर्ता लैजानका लागि उनीहरूलाई सुम्पिएको छ।" नाम नबताउने शर्तमा पीटीएफका एक अधिकारीले भने, "चिकित्सकहरूले यसलाई हाइपरट्रोफिक कार्डियोमायोप्याथीको केस हुन सक्ने आशंका गरेका छन्, जसमा मुटुको मांसपेशी बाक्लो हुन्छ।"

पीटीएफले यस घटनाबारे आफ्नो आधिकारिक वक्तव्यमा युवा खेलाडीको परिवारप्रति समवेदना व्यक्त गर्दै यस घटनाले गहिरो दुःख दिएको जनाएको छ । पाकिस्तान टेनिस महासंघका अध्यक्ष आइसाम उल हक कुरेशी, सिनेटर सलिम सैफुल्लाह खान, पूर्व अध्यक्ष पीटीएफ, पीटीएफ काउन्सिलका सदस्य र टेनिस समुदायले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्, विज्ञप्तिमा भनिएको छ। मृतक खेलाडीको सम्मानमा आइटिएफ प्रतियोगिताका सबै मंगलबारका सबै खेल बुधबारका लागि सारिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.