सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट : सुदूरपश्चिम प्रदेशको दोश्रो जित
काठमाडौंँ । सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।
लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले मात्र ७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा मनिषा बोहराले १४ बलमा ४ चौका सहित सर्वाधिक २३ रनको योगदान दिइन् । त्यस्तै अनु कडायत (१८) र कप्तान स्नेहा महराले १० रन बनाए । लुम्बिनी प्रदेशका लागि बलिङमा सुस्मिता भुषालले २ तथा सरु तिवारीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी १९.३ ओभरमा ५९ रन बनाउदै अलआउट भएको थियो । टोलीका लागि एन्जी पाठकले १७ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा रबिना साउदले सर्वाधिक ३ विकेट लिएन् । त्यस्तै करिश्मा थापा २ तथा अनु कडायत र निशा कडायतले समान १-१ विकेट लिइन ।
जितसँगै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनलमा पुग्न सुदूरपश्चिमले आज हुने दोस्रो खेलको नतिजा कुनुपर्ने भएको छ । दोस्रो खेल बागमती प्रदेश र कोहलपुर मेयर-११ बीच हुँदैछ ।
प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक-अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

टिप्पणी लेख्नुहोस्