लेख विवरण

पोखरा म्याराथनमा एनआरएनएका खेलाडीले पनि भाग लिने

पोखरा म्याराथनमा एनआरएनएका खेलाडीले पनि भाग लिने

पोखरा । आगामी वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) खेलाडी पनि सहभागी हुने भएका छन्।  संघका अध्यक्ष डा. बद्री केसीले आउँदो वर्षदेखि एनआरएनएका खेलाडीले पनि भाग लिने बताएका हुन्।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अध्यक्ष केसीले अबका म्याराथनमा एनआरएनएका खेलाडीले भाग लिने बताए। पोखरा म्याराथनमा ८७ देशमा बस्ने नेपालीहरुले समेत अपनत्व लिएको भन्दै उनले खुशी व्यक्त गरे।

सो प्रतियोगितमा संघले ७ लाख ५० हजार रुपैया आर्थिक सहयोगसमेत गरेको थियो। संघले आगामी तीन वर्षसम्म लगातार सो प्रतियोगितामा प्रायोजकको रुपमा सहयोग समेत गर्ने भएको छ। प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गरेका थिए। पोखरा म्याराथनको १८ औं संस्करणका पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीहरू भएका छन्।

जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरेका थिए।  केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समयमा पूरा गरे। केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो बन्न सफल भए।

नेपालका किरण सिंह बोगटीले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरेर चौथो स्थान प्राप्त गरे।  बिहीबार पोखरेली मञ्च युकेले तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो।

संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गरेका हुन्।  बगर भाइ खलक यूकेका अध्यक्ष तथा संघका आइसीसी सदस्य दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले एनआरएनए अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे।  म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिएका थिए।

म्याराथनमा सहभागी हुन् संघका अध्यक्ष केसीसहित संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोपका क्षेत्रीय उसंयोजक महेश अधिकारी, आइसीसी सदस्य विक्रम कार्की (कतार), पूर्वआईसीसी सदस्यद्धय अर्कराज तिमल्सिना, कृष्ण ढकाल र संघका निवर्तमान प्रवक्ता शिव बरुवाल पोखरा पुगेका थिए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.