पाकिस्तानका पूर्वकप्तान बाबर आजमले आफ्नो नाममा बनाए ठूलो कीर्तिमान
काठमाडौंँ । पाकिस्तान सुपर लिग (पिएसएल) २०२४ सुरु भएको छ । ६ टिमबीच हुने यो लिग मार्च १८ सम्म चल्नेछ । लिगको दोस्रो दिन पाकिस्तानका पूर्वकप्तान बाबर आजमले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् । बाबर आजमले पाकिस्तान सुपर लिगमा यस्तो उपलब्धि हासिल गरेका छन् जुन यसअघि कुनै पनि ब्याट्सम्यानले गर्न सकेका छैनन ।
पेशावर जाल्मीका कप्तान बाबर आजमले पाकिस्तान सुपर लिगमा आफ्नो ३ हजार रन पूरा गरेका छन् । उनी पीएसएलमा यस्तो गर्ने पहिलो खेलाडी बनेका छन् । उनले यस सिजनको सुरुवात पनि अर्धशतकबाट गरेका छन्, यद्यपि उनको टोलीले पहिलो खेलमा हार बेहोर्नु परेको थियो । बाबरलाई ३ हजार रन पूरा गर्न ६५ रन चाहिएको थियो । उनले क्वेटा ग्लाडियटर्सविरुद्ध ४२ बलमा ६८ रन बनाएका थिए । यस क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे । बाबर टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्न नजिक पुगेका छन् । अब उनलाई मात्र ७४ रन को आवश्यकता रहेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्वेटा ग्लाडियटर्सले ५ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जवाफमा बाबरले ६८ रन बनाए भने ओपनर साइम अयुबले ४२ रनको पारी खेले । बाबर र साम अयुबले ९१ रनको प्रारम्भिक साझेदारी गरेका थिए । तर यी दुई खेलाडीबाहेक कुनै पनि ब्याट्सम्यानले खासै विशेष प्रदर्शन गर्न सकेनन् । जसका कारण पेशावर जाल्मीले यस खेलमा १६ रनको हार बेहोर्नुपरेको थियो । आइतबार भएको दोस्रो खेलमा मुल्तान सुल्तान्सले कराँची किंग्सलाई पराजित गरेको थियो ।
पीएसएलको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीहरुः
बाबर आजम (७८ पारी) ३ हजार ३ रन
फखर जमान (७७ पारी) २ हजार ३ सय ८१ रन
शोएब मलिक (७८ पारी) २ हजार १ सय ३५ रन
मोहम्मद रिजवान (६१ पारी) २ हजार ७ रन ।

टिप्पणी लेख्नुहोस्