ज्याक क्राउलीको एलबीडब्लुमा प्रश्न उठ्यो ? स्टोक्सद्धारा अम्पायर्स कल हटाउन माग
काठमाडौंँ । भारतविरुद्धको तेस्रो टेस्टमा पराजित भएपछि इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) बाट अम्पायर्स कल हटाउन माग गरेका छन् । तेस्रो टेस्टको दोस्रो इनिङ्समा ज्याक क्राउली एलबीडब्लु भएपछि स्टोक्स निराश भएका थिए । यही कारण उनले डीआरएस नियम परिवर्तन गर्न माग गरेका छन् ।
खेलपछि स्टोक्स र इंग्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याकुलमले म्याच रेफ्री जेफ क्रोसँग कुराकानी गरेका थिए । खेलपछि स्टोक्सले भने, "रिप्लेमा बल स्पष्ट रुपमा स्टम्पबाट बाहिर गइरहेको थियो । तर जब अम्पायरको निर्णय आयो, हामी आश्चर्यचकित भयौं । रेफ्रीले संख्याका आधारमा बल स्टम्पमा ठोक्किन बाध्य भए पनि प्रक्षेपण गलत भएको बताए । यसको अर्थ के हो मलाई थाहा छैन । यसका लागि म कसैलाई दोष दिन चाहन्न ।"
स्टोक्सले भने, "मलाई लाग्छ अम्पायर्स कल हटाउनुपर्छ । यदि बल स्टम्पमा ठोकिएको छ भने, तपाईंले आउट दिनुपर्छ।"
राजकोट टेस्टमा इंग्ल्याण्डका ओपनर ज्याक क्राउली एलबीडब्लु आउट भएका थिए । उनलाई नवौं ओभरको दोस्रो बलमा जसप्रित बुमराहले पवेलियन फर्काए । क्राउलीले २६ बलमा ११ रन जोडेका थिए ।
क्राउली ११ रनबनाएर खेलिरहेका बेला बुमराहको बलमा एलबिडब्लुको बलियो अपील आयो । फिल्ड अम्पायर कुमार धर्मसेनाले आउट दिए । त्यसपछि इंग्लिस ओपनरले डीआरएस लिए, बल ट्रयाकिङका क्रममा लेग स्टम्प छुँदै बाहिर गएको थियो । त्यसपछि अम्पायरको कलका कारण उनी पवेलियन फर्किनुपरेको थियो, जसले गर्दा उनी निकै रिसाएका देखिन्थे ।

टिप्पणी लेख्नुहोस्