विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई मेडिकल किट्स
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका लागि राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले प्राथमिक उपचार सामाग्री, औषधि र औषधिजन्य सामाग्री बुधबार उपलब्ध गराएको छ ।
पहिलो चरणमा विशेष प्रशिक्षणमा रहेका तेक्वान्दो, कराते, उसु, बक्सिङ र जुडो खेलका प्रशिक्षकलाई सामाग्री प्रदान गरिएको हो । तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सम्बन्धित खेलका प्रशिक्षकलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।
विशेष प्रशिक्षणमा रहेका खेलाडीको फागुन १५ र १६ गते स्वास्थ परीक्षण हुने केन्द्रका प्रमुख दोबे तामाङले जनाएका छन् । उनका अनुसार आँखाको परीक्षण नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरले निःशुल्क गरिदिने भएको छ ।

टिप्पणी लेख्नुहोस्