अन्तर स्कुल क्रिकेट प्रतियोगिता : कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विहिबार भएको पहिलो खेलमा कोशी मोडेलले मनकामना स्कुललाई ९ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । टोलीका लागि रविन मण्डलले सर्वाधिक २५ रन बनाए । मनकामनाका लागि बलिङमा लक्ष्मण तामाङले ३ विकेट लिए ।
१ सय २ रनको लक्ष्य पछ्याएको मनकामनाले १६ दशमलव २ बलमा सवै विकेट गुमाउदै ९२ रन बनायो । टोलीका लागि अंकित मल्लिकले सर्वाधिक १२ रनको योगदान दिए । कोशीका लागि बलिङमा खेलको प्लेयर अफ द म्याच बनेका गोपाल मण्डल र रितिक यादवले ३–३ विकेट लिए ।
त्यस्तै दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाएर ७६ रनको योगफल तयार पारेको थियो । टोलीका लागि सौरभ बजाजले सर्वाधिक २८ रनको योगदान दिए । बलिङमा अरनिकोका म्यान अफ द म्याच साजन यादवले ३ विकेट लिँदा साइसर कोइरालाले २ विकेट लिए ।
७७ रनको विजयी लक्ष्य पाएको अरनिकोले १४ ओभरमा ४ विकेट सो विजयी लक्ष्य पार गरेको थियो । टोलीका अविशेक यादवले २६ रन बनाउँदा लुसाङ गुरुङले २० रनको योगदान दिए । नेपाल गुरुकुलका मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्