कृष्णध्वज स्मृति टेबलटेनिस : सुस्मितालाई स्वर्ण
काठमाडौंँ । प्राइम ग्लोबलकी सुस्मिता खड्काले आठौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा सोमबार स्वर्ण जितेकी छन् ।
रेड टायल्स प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा सुस्मिताले ओमेगाकी योङगी पौडेललाई ११–६, ८–११, ११–८ र ११–१ को सेटमा पराजित गरिन् ।
स्कुलतर्फ यु–१४ ब्वाइज सिंगल्समा एभीएमका जयस्नु महर्जन पहिलो भए । उनले फाइनलमा एभरेष्टका आर्यन शाहीलाई ७–११, ११–३, ११–३ र १२–१० को सेटमा हराए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा भासराका रिजन शाक्यले एभीएमका स्वर्णिम शाक्यालाई ११–९, ९–११, १२–१० र ११–१ ले पाखा लगाउदै शीर्ष स्थानमा रहे । यु–१६ गल्र्स सिंगल्समा भासराका बचन विष्टले पहिलो स्थान हात पारे । उनले फाइनलमा एभीएमका प्रजिल भट्टराईलाई ११–२, ११–५ र ११–५ को सोझो सेटमा पन्छाए । यु–१० ब्वाइज सिंगल्सको फाइनलमा एभीएमका विज्ञान राईले एभीएमकै आयन्श शर्मालाई ११–४, ११–७, १०–१२ र १५–१३ ले पन्छ्याउदै पहिलो भए ।

टिप्पणी लेख्नुहोस्