मुम्बई इन्डियन्सले आरसीबीलाई ७ विकेटले पराजित गर्यो
काठमाडौंँ । भारतको बेंगलोर स्थित चिन्नास्वामी स्टेडियममा जारी महिला प्रिमियर लिग (डब्लुपिएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सले आरसीबीलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि १३२ रनको लक्ष्य पछ्याउने क्रममा यास्तिका भाटिया (३१) र हेली म्याथ्यूज (२६) ले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर्दै मुम्बईइन्डियन्सलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि कप्तान नाट स्किभर ब्रन्टले २७ र एमिला केरले अविजित ४० रन को योगदान दिए ।
यसअघि मुम्बई इन्डियन्सले जितका लागि १ सय ३२ रनको लक्ष्य पाएको थियो । मुम्बईअघि ब्याटिङ गरेको आरसीबीले राम्रो सुरुआत गर्न सकेन । टोलीका स्टार खेलाडी कप्तान स्मृति मन्धाना (९) र एस डिभाइन (९) ले रनमा दोहरो अंक छुन सकेनन् । मेघना (११) पनि लामो समय टिक्न सकिनन् तर एलिस पेरी (४४) ले राम्रो पारी खेलिन् भने वेयरह्याम (२७) ले पनि तल्लो क्रमका लागि उपयोगी पारी खेले । योसँगै आरसीबीको टिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रनको आँकडा छुन सफल भयो । मुम्बईमा स्काइभर र पूजा वस्त्राकरले समान २–२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्