लेख विवरण

नेशनल टी–२० च्याम्पियनसिपका लागि सुदूरको टोली घोषणा

नेशनल टी–२० च्याम्पियनसिपका लागि सुदूरको टोली घोषणा

काठमाडौंँ । यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय घोषणा गरिएको टोलीको उपकप्तानमा दीपक बोहरा, अन्य सदस्यमा दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशी रहेका छन् ।

साथै विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।

धनगढीको फाप्ला मैदानमा तीन दिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ । नेपाल ‘ए’ समूह, यु–१९ विश्वकप, प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितको टोली रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रादेशिक क्रिकेट सुदूरपश्चिमले जनाएको छ ।

क्रिकेट सङ्घ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ । तीन विभागीय र सात प्रदेशस्तरीय टिमको सहभागिता रहने खेल आगामी चैत ३ गतेसम्म सञ्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । उपाधि विजेता टिमले ट्रफिसहित रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार पाउने जनाइएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.