लेख विवरण

टि–२० राष्ट्रिय क्रिकेट : कोशी र सुदुरपश्चिम प्रदेश विजयी

टि–२० राष्ट्रिय क्रिकेट : कोशी र सुदुरपश्चिम प्रदेश विजयी

विराटनगर । विराटनगर–१९ स्थित बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरुवात भएको छ ।

आज भएको खेलमा कोशी प्रदेश र सुदुर पश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरि ४६ रनको योगदान दिँदा सुजन थपलियाले ३८, समिर कार्कीले २० र दिपेश कंडेलले १४ रन जोडे ।

कर्णालीका अनुज चनाराले २ विकेट लिँदा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ४१ रनको लक्ष्य पछ्याएको कर्णाली १८ दशमलव ३ बलमा सवै विकेट गुमाउदै १ सय २ रनमा रोकिएको थियोे । कर्णालीका हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोड्दा दिनेश अधिकारी ११ र दिवान पुनले १० रन जोडे । कोशीका म्यान अफ द म्याच दिपेश कंडेलले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारीले २ विकेट लिए ।

दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश विजयी

प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको सुदुर पश्चिम प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ७२ रनको विशाल स्कोर खडा गरेको थियो । सुदुर पश्चिमका लागि म्यान अफ द म्याच नरेश भट्टले ४६ बलमा १ छक्का र ७ चौका प्रहार गरि ६२ रनमा अविजित हुँदा किरण ठगुनाले २० बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५३ रन र खडक बोहोराले ४१ रन बनाए । गण्डकीका अमित गुरुङ र सन्दिप क्षेत्रीले १–१ विकेट लिए ।

जवाफमा १ सय ७३ को विजयी लक्ष्य पछ्याएको गण्डकी ४० रनले पराजित भयो । गण्डकीकालागि दिपक डम्रेले ३० बलमा १ छक्का र ६ चौका प्रहार गरि ४० रन बनाउँदा इश्वर क्षेत्रीले १८, समिर कंडेलले १४, सन्दीप क्षेत्रीले १२ र गोविन्द विकले ११ रनको योगदान दिए । सुदुर पश्चिमका हेमन्त धामीले ३ विकेट लिँदा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान २–२ विकेट लिए ।

चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागिय टोली गरि १० टिम सहभागि हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरेसीले बताए । प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.