नेशनल टी–२० क्रिकेट प्रतियोगितामा पुलिस क्लब सुदुरपश्चिमसँग पराजित
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र आर्मी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदुरपश्चिमले ३ खेलमा २ जित र १ हारसँगै ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको सुदुरले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदुपश्चिमका अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ६ छक्का प्रहार गर्दै ४० र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।
पुलिसका शरद भेषवाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिदाँ मन्जित श्रेष्ठले २ विकेट लिए ।
जवाफमा १ सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउँन सक्यो । पुलिसका शंकर राना एक्लैले नटआउट ९१ रन बनाए । रानाले ६२ बलमा ५ छक्का र ९ चौका प्रहार गरे । त्यस्तै अविशेक कार्कीले २० बनाए । सुदुरपश्चिमका दिपक चन्द र शेर मल्लले २(२ तथा नारायण जोशीले १ विकेट लिए ।
दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रनको योगफल तयार पारेको थियो । आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरि ४२ रन बनाउँदा सन्दिप रजालीले नटआउट ४१ र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णालीका प्रकाश जैशीले २ विकेट लिँदा दिनेश अधिकारी र दिपेन्द्र रावतले १–१ विकेट लिए ।
जवाफमा १ सय ४१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३२ रन मात्र जोड्न सक्यो । कर्णालीलागि दिपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रविन्द्र शाहीले २२ र विपिन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले २ विकेट लिँदा तिर्थराज दास, पवन कार्की, शाहव अलाम र वसिर अहमदले १–१ विकेट लिए ।
शनिबारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्