धर्मशाला टेस्टमा भारतलाई २ सय ५५ रनको अग्रता
काठमाडौंँ । इंग्ल्याण्डविरुद्ध टेस्ट शृङ्खलाको अन्तिम खेलमा भारतले २५५ रनको बलियो अग्रता लिएको छ । धर्मशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दोस्रो दिनको खेल सकिँदासम्म ८ विकेट गुमाएर ४ सय ७३ रन बनाएको छ । जसप्रित बुमराह १९ र कुलदीप यादव २७ रनमा अविजित छन् ।
शुक्रबार भारतले १ विकेटको क्षतिमा १ सय ३५ रनबाट खेल सुरुवात गरेको थियो । कप्तान रोहित शर्माले व्यक्तिगत ५२ तथा शुभमन गिलले २६ रनको व्यक्तिगत स्कोरबाट खेल सुरु गर्दा लंचसम्म दुबै खेलाडीले आ(आफ्नो शतक पूरा गरेका थिए ।
रोहित शर्माले १०३ र शुभगन गिलले ११० रन बनाए । त्यसपछि मध्यक्रमका लागि देवदत्त पडिक्कलले ६५ र सरफराज खानले ५६ रनको अर्धशतकीय पारी खेल्दै भारतलाई बलियो अग्रता दिलाए ।
भारतका कप्तान रोहित शर्माले १२ औं र शुभमन गिलले चौथो टेस्ट शतक प्रहार गरे । दुवैले दोस्रो विकेटका लागि १७१ रनको महत्वपूर्ण साझेदारी गरे । यो साझेदारीका आधारमा भारतले अन्तिम टेस्टमा बलियो अग्रता लिएको हो ।
यो साझेदारी तोड्दासम्म भारतले पहिलो इनिङ्समा ५७ रनको अग्रता लिइसकेको थियो । यो साझेदारी इंग्लिस टोलीका कप्तान बेन स्टोक्सले भारतीय कप्तान रोहित शर्मालाई बोल्ड गरेर तोडेका थिए ।
रोहित २७५ र गिल २७९ रनमा आउट भएपछि डेब्यु म्याच खेलिरहेका देवदत्त पडिक्कल र सरफराज खानले मिडिल अर्डरमा अर्धशतकीय पारी खेल्दै भारतको स्कोर ३५० रनभन्दा माथि पुर्याएका थिए ।
दुवैले चौथो विकेटका लागि १ सय ३२ बलमा ९७ रनको साझेदारी गरेका थिए । पडिक्कलले ६५ र सरफराजले ५६ रनको योगदान दिए ।
अलराउण्डर रविन्द्र जडेजा र ध्रुव जुरेलले समान १५–१५ रन बनाए । रविचन्द्रन अश्विन शून्य रनमा आउट भए। उनलाई टम हार्टलेले बोल्ड गरेका थिए ।
इंग्ल्यान्डका स्पिनर शोएब बशीरले भारतका चार ब्याट्सम्यानलाई आउट गरे भने टम हार्टलेले दुई विकेट लिए । जेम्स एन्डरसन र बेन स्टोक्सले समान १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्