लेख विवरण

इंग्ल्यान्डलाई हराउँदै भारत डब्ल्युटिसीको शीर्ष स्थानमा उक्लियो

इंग्ल्यान्डलाई हराउँदै भारत डब्ल्युटिसीको शीर्ष स्थानमा उक्लियो

काठमाडौंँ । धर्मशाला टेस्टमा भारतले इंग्ल्याण्डलाई एक इनिङस र ६४ रनले पराजित गरेको छ । यससँगै भारतले पाँच खेलको टेस्ट शृङ्खला ४–१ ले जितेको छ । एचपीसीए स्टेडियममा बिहीबार भएको खेलमा इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो ।

पहिलो इनिङ्समा इंग्ल्यान्ड २१८ रनमा अलआउट हुँदा भारत ४७७ रनमा अलआउट भएको थियो । दोस्रो इनिङ्समा भारतले २ सय ५९ रनको अग्रता लिएपछि इंग्ल्यान्ड १ सय ९५ रनमा समेटियो । यसरी इंग्लिस टोलीले एक इनिङस र ६४ रनको हार बेहोर्नुप¥यो । आफ्नो १०० औं टेस्ट खेलिरहेका भारतका रविचन्द्रन अश्विनले उक्त खेलमा ९ विकेट लिए ।

भारतले विश्व टेस्ट च्याम्पियनसिपमा ३ मध्ये २ सिरिज जितेको छ । टोलीले हालसम्म ९ खेल खेलेको छ, जसमा ६ मा जित र २ मा हार बेहोरेको छ ।

भारतले इंग्ल्याण्डलाई ४–१ ले हरायो । यसअघि दक्षिण अफ्रिकामा भएको दुई टेस्टको सिरिज १–१ को बराबरीमा सकिएको थियो भने वेस्ट इन्डिजलाई दुई टेस्टको सिरिजमा १–० ले पराजित गरेको थियो ।

तीन सिरिजमा ६८.५१ प्रतिशत अंक जोडेको भारत डब्ल्युटिसीको शीर्ष स्थानमा छ । न्युजिल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । भारतले अब अस्ट्रेलियाविरुद्ध अष्ट्रेलियामा सिरिज खेल्नुपर्ने छ । यस्तै घरेलु मैदानमा बंगलादेश र न्युजिल्यान्डविरुद्ध २ सिरिज हुनेछ ।

पछिल्लो १२ वर्षमा घरेलु मैदानमा भारतले लगातार १७ औं शृंखला जितेको छ । घरेलु मैदानमा लगातार सर्वाधिक सिरिज जित्ने रेकर्ड भारतीय टोलीको नाममा छ । अस्ट्रेलिया लगातार १० सिरिज जितेर दोस्रो स्थानमा रहेको छ ।

भारतले पछिल्लो पटक सन् २०१२ मा घरेलु मैदानमा टेस्ट शृंखला गुमाएको थियो । उक्त सिरीजमा इंग्ल्याण्डले भारतलाई २–१ ले हराएको थियो । त्यसयता टिम इन्डियाले घरेलु मैदानमा कुनै पनि सिरिज हारेको छैन र लगातार १७ पटक प्रतिद्वन्द्वी टोलीलाई पराजित गरेको छ ।

इंग्ल्यान्डका लागि जो रुटले दोस्रो इनिङ्समा ८४ रन बनाए । रुटबाहेक अन्य ब्याट्सम्यानले केही खास गर्न नसक्दा टिमले १ सय ९५ रन मात्र बनाउन सक्यो । भारतका लागि रविचन्द्रन अश्विनले दोस्रो इनिङमा ५ विकेट लिए । बलिङतर्फ भारतका जसप्रित बुमराह र कुलदीप यादवले समान २–२ विकेट लिए । रविन्द्र जडेजाले एक विकेट लिए ।

रविचन्द्रन अश्विनले दोस्रो इनिङमा बेन फोक्सलाई आउट गर्नुका साथै टेस्ट क्रिकेटमा ३६ औं पटक इनिङ्समा ५ विकेट लिएका थिए । यससँगै उनले अनिल कुम्बलेलाई पछि पारेका छन् । कुम्बलेले टेस्ट क्रिकेटमा ३५ पटक पाँच विकेट लिएका छन् । भारतका लागि सर्वाधिक पाँच विकेट लिने खेलाडीको सूचीमा अश्विन शीर्ष स्थानमा उक्लिएका छन् । धर्मशाला टेस्ट अश्विनको १०० औं टेस्ट थियो, जसमा उनले कुल ९ विकेट लिएका थिए।

भारतका लागि शुभमन गिलले ११०, रोहित शर्माले १०३, यशस्वी जैसवालले ५७, देवदत्त पडिक्कलले ६५ र सरफराज खानले ५६ रन बनाए । इंग्ल्यान्डका शोएब बशीरले ५ विकेट लिए । जेम्स एन्डरसन र टम हार्टलीले समान २–२ विकेट लिए । कप्तान बेन स्टोक्सले एक विकेट लिए ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले पहिलो इनिङमा कुलदीप यादवलाई आउट गर्दै टेस्ट करियरमा ७०० विकेट पूरा गरेका थिए । उनी यस्तो गर्ने विश्वकै पहिलो तीव्र गतिका बलर बनेका छन् । स्पिनरमा अस्ट्रेलियाका शेन वार्न (७०८) र श्रीलंकाका मुथैया मुरलीधरन (८००) ले बढी विकेट लिएका छन् ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय १८ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका लागि पहिलो इनिङ्समा ज्याक क्राउली ७९ रनमा आउट भए । बाँकी ब्याट्सम्यानले केही खास गर्न नसकेपछि टोली २१८ रन बनाएर अलआउट भएको थियो । भारतका लागि पहिलो इनिङ्समा कुलदीप यादवले ५ विकेट लिए भने रविचन्द्रन अश्विनले ४ विकेट लिए । रविन्द्र जडेजाले एक विकेट लिए ।

इंग्लिस कप्तान बेन स्टोक्स आउट भएसँगै आधा टोली १०३ रनको स्कोरमा पेभेलियन फर्किएको थियो । बेन स्टोक्सलाई अश्विनले बोल्ड गरेका थिए । उनले १० बलको सामना गर्दै २ रन बनाए । यो विकेटसँगै अम्पायरले लन्चको घोषणा गरेका थिए ।

लन्च सेसनपछि जो रुटले एक साइड सम्हाल्दा रविचन्द्रन अश्विनले २ विकेट लिए । जसप्रित बुम्राहले पनि टम हार्टली र मार्क वुडलाई एलबीडब्लु आउट गर्दै इंग्ल्याण्डलाई ब्याकफुटमा धकेलेका थिए । जडेजाले शोएब बशीरलाई बोल्ड गरे ।

अन्तिममा कुलदीप यादवले ८४ रनको स्कोरमा जो रुटलाई बुमराहको हातबाट क्याच आउट गराए । यो विकेटसँगै इंग्ल्यान्डको टोली १९५ रनको योगफलमा समेटियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.