लेख विवरण

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा पुलिस र त्रिभुवन आर्मी क्लब विजयी

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा पुलिस र त्रिभुवन आर्मी क्लब विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले अब विहिबार बागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटको जित निकाल्नु पर्ने हुन्छ ।

समुह बी को अंक तालिकामा पुलिस ३ खेलमा २ जित र १ हारसँगै ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी प्रदेश ४ खेलमा ३ जित र १ हारसँगै ६ अंकका साथ शिर्ष स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा ३ जित र १ हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गदै २९ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाटीले ३४ रनको योगदान दिए । पुलिसका लागि कप्तान मञ्जित श्रेष्ठ र अविशेक कार्कीले समान २-२ विकेट लिए ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पुलिसकोे जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौकाको मद्दतमा ८० रन बनाउदै अविजित रहे । अमित श्रेष्ठले ४९ रन बनाए । लुम्बिनीका देव खनालले १ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले अर्को विभागिय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ । हारसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । आर्मी ४ खेलमा शत प्रतिशत जित निकाल्दै ८ अंकका साथ समुह ए को शिर्ष स्थानमा रहेको छ भने एपिएफ ३ खेलमा २ हार र १ जितका साथ पुछारमा छ ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाउदै १ सय ३९ रनको स्कोर बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरि ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ र पूरन विकले २३ रनको बनाए । आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तृतराज दासले २ विकेट लिए ।

१ सय ४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमा ६ विकेट गुमाउदै विजयी लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले ३९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै अविजित ४६ रन बनाए । सन्दिप रजाली २६ र रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए । एपिएफका भुवन कार्कीले र यज्ञमान कुमालले २-२ विकेट लिए ।

विहिबारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र बागमतीबीच हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.