पहिलो एकदिवसीयमा बंगलादेशले श्रीलंकालाई ६ विकेटले हरायो
काठमाडौंँ । पहिलो एकदिवसीय खेलमा बंगलादेशले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै टोलीले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले शतकीय पारी खेल्दै प्लेयर अफ द म्याचको अवार्ड हात पारे ।
चट्टोग्रामस्थित जहुर अहमद चौधरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले २५५ रन बनाएको थियो । बंगलादेशले ४५ औं ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका लागि पाथुम निसानका र अविष्का फर्नान्डोले टोलीलाई राम्रो सुरुवात दिलाए । फर्नान्डो ३३ रनमा आउट भएपछि दुईबीचको ७१ रनको साझेदारी टुट्यो । त्यसपछि निसानका पनि ३६ रन बनाएर पेभेलियन फर्किए ।
कप्तान कुसल मेन्डिस एक छेउमा रहे पनि सदिरा समरविक्रमा ३ रन बनाएर पेभेलियन फर्किए । चरिथ असालंका पनि १८ रन बनाएर आउट भए ।
श्रीलंकाले १२८ रनमा ४ विकेट गुमाएपछि कप्तान मेन्डिस र जेनिथ लियानागेले टोलीको जिम्मेवारी सम्हालेका थिए । दुवैले अर्धशतकको साझेदारी गर्दै टोलीलाई २०० रनको नजिक पुर्याएका थिए । मेन्डिस ५९ रन बनाएर आउट भए र दुईबीचको ६९ रनको साझेदारी टुट्यो ।
श्रीलंकाले १९७ रनमा ५ विकेट गुमाउदै लगातार विकेट गुमाएको थियो । वनिन्दु हसरङ्गा १३, महिश टिक्षाना १, प्रमोद मदुशन ८ र दिलशान मदुशंका खाता नखोलेर आउट भए । लियानागे पनि ६७ रन बनाएर आउट भएसँगै श्रीलंकाको इनिङ्स ४८.५ ओभरमा २५५ रनमा समेटिएको थियो ।
बंगलादेशका लागि शरीफुल इस्लाम, तस्किन अहमद र तान्जिम हसन साकिबले ३–३ विकेट लिए । मेहदी हसन मिराजले पनि एक सफलता हात पारे ।
२ सय ५६ रनको लक्ष्य पछ्याउन पुगेको बंगलादेशको सुरुवात खराब रह्यो । लिटन दास पहिलो बलमै बोल्ड भए । उनीपछि सौम्य सरकार र तौहिद हृदयी ३–३ रन बनाएर आउट भए । टोलीले २३ रनमा ३ विकेट गुमाएको थियो ।
कप्तान नजमुल हुसेन शान्तो र महमुदुल्लाहले टोलीलाई सय रनको नजिक पुर्याए । महमुदुल्लाह ३७ रन बनाएर आउट भए र दुईबीच ६९ रनको साझेदारी टुट्यो ।
९२ रनको स्कोरमा ४ विकेट गुमाएपछि अनुभवी मुस्फिकुर रहिमले कप्तान शान्तोसँग मिलेर टोलीलाई सम्हाले । दुवैले थप विकेट खस्न दिएनन् र ४५ औं ओभरमा टोलीलाई जित दिलाए । शान्तोले १२२ रन र रहिम ७३ रन बनाएर नटआउट रहे । यी दुईबीच १६५ रनको साझेदारी भयो ।
श्रीलंकाका दिलशान मदुशंकाले २ विकेट लिए । प्रमोद मदुशन र लाहिरु कुमाराले एक एक सफलता हात पारे ।
पहिलो एकदिवसीय खेल जित्दै बंगलादेशले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल १५ मार्चमा चट्टोग्राममा हुनेछ । दुई टोलीबीच तीनवटै फर्म्याटको सिरिज हुँदैछ । श्रीलंकाले तेस्रो टी–२० सिरिज २–१ ले जितेको छ । एकदिवसीयपछि यी दुईबीच २ टेष्टको सिरिज पनि हुनेछ ।

टिप्पणी लेख्नुहोस्