आयरल्याण्डलाई ११७ रनले पराजित, अफगानिस्तानद्धारा सिरीज कब्जा
काठमाडौंँ । एकदिवसीय सिरिजको तेस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ११७ रनले पराजित गरेको छ । योसँगै टोलीले एकदिवसीय सिरिज पनि २–० ले कब्जा गरेको छ । खेलमा ५ विकेट लिने अफ स्पिनर मोहम्मद नाबी प्लेयर अफ दि म्याच भए ।
प्लेयर अफ द सिरिजको अवार्ड विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले पाए । दुई टोलीबीचको टी–२० सिरिज मार्च १५ बाट सुरु हुँदैछ ।
शारजाह क्रिकेट स्टेडियममा आयरल्याण्डले टस जितेर पहिले बलिङ रोजेको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाज र इब्राहिम जद्रानले राम्रो सुरुवात दिलाए । दुबैले ६२ रनको ओपनिङ पार्टनरसिप गरे । जाद्रान २२ रन बनाएर आउट भए ।
उनीपछि रहमत शाह पनि ४ रन बनाएर प्याभिलियन फर्किए । गुरबाज पनि धेरै समय क्रिजमा टिक्न सकेनन् र ५१ रन बनाएर आउट भए । उनीपछि अजमातुल्लाह ओमरजाई ४ रन बनाएर रनआउट भए । टोलीले ९६ रनको स्कोरमा ४ विकेट गुमाएको थियो ।
सय रनभित्र ४ विकेट गुमाएपछि अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाहिदी र मोहम्मद नाबीले टोलीको जिम्मेवारी सम्हालेका थिए । दुवैले अर्धशतक प्रहार गर्दै टोलीको स्कोर १५० रनभन्दा माथि पुर्याएका थिए । नाबी ४८ रन बनाएर आउट भए र दुवैबीचको ९७ रनको साझेदारी टुट्यो ।
पाँचौं विकेटपछि अफगानिस्तानले लगातार विकेट गुमायो । इक्राम अलीखिल २, नाङ्ग्याल खरोती १०, अल्लाह गजन्फर ५ र सहिदी ६९ रन बनाएर आउट भए । फजलहक फारुकी र नाभिद जाद्रान अन्तिमसम्म क्रिजमा रहदै टोलीलाई अलआउट हुनबाट जोगाए ।
अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । आयरल्याण्डका लागि मार्क एडेयरले ३ तथा ब्यारी म्याकार्थीले २ विकेट लिए । थियो भान वीरकोम, एन्डी म्याकब्राइन र ह्यारी टेक्टरले एक–एक सफलता हात पारे ।
२ सय ३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डलाई तेस्रो ओभरमै झट्का लागेको थियो । एन्ड्रयु बालबर्नी १ रन बनाएर आउट भए । उनीपछि कप्तान पल स्टर्लिङ र कर्टिस क्याम्फरले टोलीको जिम्मेवारी सम्हाले । दुवैले टोलीको स्कोर ५० रनभन्दा माथि पुर्याएका थिए ।
स्टर्लिङ ५० रन बनाएर मोहम्मद नाबीको शिकार बने र क्याम्फरसँगको ७३ रनको साझेदारी टुट्यो । उनको विकेटपछि ह्यारी टेक्टर टिमको स्कोर ९३ रन हुँदा प्याभिलियन फर्किए ।यहाँबाट टोलीले अन्तिम ७ विकेट २६ रनमा गुमायो । क्याम्फर ४३ रन बनाएर आउट भए भने बाँकी ब्याट्सम्यानले दोहरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका मोहम्मद नाबीले ५ तथा नांग्याल खरोतीले ४ विकेट लिए । फजलहक फारुकीले एक सफलता हात पारे ।
तेस्रो एकदिवसीय खेलमा जितसँगै अफगानिस्तानले ३ खेलको सिरिज २–० ले जितेको छ । टोलीले पहिलो एकदिवसीय खेल ३५ रनले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण अनिर्णित रह्यो । दुई टोलीबीच तीनवटै फर्म्याटको सिरिज हुँदैछ । एकमात्र टेस्ट आयरल्याण्डले ६ विकेटले जितेको थियो । यी दुईबीचको टी–२० सिरिज मार्च १५ बाट खेलिनेछ । सिरिज मार्च १८ सम्म चल्नेछ ।
अफगानिस्तानसँगको सिरीजपछि आयरल्याण्ड ए ले नेपाल भ्रमण गर्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्याण्ड ए सँग टि-२० र एकदिवसीय सिरीज खेल्ने तालिका रहेको छ ।
आयरल्याण्ड क्रिकेट टिम नेपाल आउदै, टी-२० तथा एकदिवसीय सिरिज खेल्ने

टिप्पणी लेख्नुहोस्