मुम्बईले ४२ औं पटक जित्यो रणजी ट्रफीको उपाधि
काठमाडौंँ । मुम्बईले फेरी पनि रणजी ट्रफीको उपाधि जितेको छ । टोलीले फाइनलमा विदर्भलाई १ सय ६९ रनले पराजित गर्दै यो सफलता हात पारेको हो । मुम्बईले विदर्भलाई ५ सय ३८ रनको विशाल लक्ष्य दिएको थियो, जसलाई टोलीले पूरा गर्न सकेन । योसँगै रणजी इतिहासको सबैभन्दा सफल टोलीले आफ्नो क्याबिनेटमा अर्को ट्रफी थपेको छ । मुम्बई टोलीको यो ४२औँ रणजी ट्रफी उपाधि हो।
विदर्भलाई हराउँदै मुम्बईले रणजी ट्रफीको उपाधिका लागि ९ वर्षको प्रतीक्षा पनि अन्त्य गरेको छ । टोलीले पछिल्लो पटक सन् २०१५–१६ मा यो उपाधि जितेको थिए । विदर्भले तेस्रो पटक रणजी ट्रफीको फाइनल खेलेको हो। टोलीले यसअघि खेलेको दुवै फाइनल जितेको थियो । तर यसपटक विदर्भ च्याम्पियन बन्न असफल भयो ।
रणजी ट्रफीको फाइनलमा मुम्बईले दिएको ठूलो लक्ष्य पछ्याउँदै विदर्भको टोली आफ्नो दोस्रो इनिङ्समा ३ सय ६८ रन मात्र बनाउन सफल भयो र जितबाट १६९ रन टाढा रह्यो। मुम्बईका लागि दोस्रो इनिङ्समा तनुष कोटियनले सर्वाधिक ४ विकेट लिए । विदर्भका लागि ए.वाडकरले शतक प्रहार गरे । यी बाहेक करुण नायर र हर्ष दुबेले अर्धशतक बनाए पनि टोलीलाई जिताउन पर्याप्त भएन ।
यसअघि मुम्बईका लागि दोस्रो इनिङ्समा मुशीर खानले शतक, अजिन्क्या रहानेले ७३ र श्रेयस अय्यरले ९५ रन बनाए । यसबाहेक शम्स मुलानीले पनि अर्धशतकीय पारी खेले । मुम्बईले दोस्रो इनिङ्समा ४ सय १८ रन बनाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पहिलो इनिङ्समा २ सय २४ रन बनाएको थियो । जवाफमा विदर्भको टोलीले आफ्नो पहिलो इनिङ्समा १०५ रन मात्र बनाउन सफल भयो ।

टिप्पणी लेख्नुहोस्