लेख विवरण

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : मधेस र बागमती प्रदेश विजयी

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : मधेस र बागमती प्रदेश विजयी

मोरङ । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपिएफलाई २१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको योगफल बनाएको थियो । मधेसका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविजित तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्की र पुरन विकले समान ३-३ विकेट लिए ।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पूरै ओभर खैल्दैँ ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुमान बमले पनि १२ रन बनाए । मधेसका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई बागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा बागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । बागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रवीन जोशीले २७ र शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की र दीपक सेरलाले समान २-२ विकेट लिए ।

जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा सिमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रन बनाए भने शङ्कर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । बागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले समान २–२ विकेट लिए ।

भोलि पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो लुम्बिनी र कर्णाली प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.