लेख विवरण

एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा

एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । यहाँस्थित रङ्गशालामा बिहीवार भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक बराबरी गोल गरेका थिए । झापाका खेलाडी फोडा फेफानेले खेलको ४३औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको जवाफमा एनआरटीका सरोज तामाङले ४५औँ मिनेटमा गोल फर्काएर बराबरीमा पु¥याएका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा एनआरटीका लागि सरोज तामाङ, सनम लिम्बू, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरेका थिए भने झापाका लागि विमल घर्ती मगर, अभिशेक गुरुङ, दिवस उराव र देवेन्द्र तामाङले मात्र गोल गर्न सफल भए । झापाका विशाल घलानको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए ।

बिहीवार सम्पन्न खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित हुँदै नगद रू १० हजार प्राप्त गरे । शनिबार हुने फाइनल प्रतिस्पर्धामा एनआरटीले मोरङ फुटबल एसोसिएनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.