लेख विवरण

टी–२० विश्वकपबाट स्टप क्लक स्थायी रुपमा लागु हुँदै, नियम उल्लङ्घन गरेमा फिल्डिङ टोलीलाई घाटा

टी–२० विश्वकपबाट स्टप क्लक स्थायी रुपमा लागु हुँदै, नियम उल्लङ्घन गरेमा फिल्डिङ टोलीलाई घाटा

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२४ को जुन महिनामा हुने टी–२० विश्वकपमा परीक्षणका लागि लागु गरिएको स्टप क्लक नियमलाई स्थायी बनाउने निर्णय गरेको छ । सन् २०२३ डिसेम्बरमा आईसीसीले यो नियम परिक्षणको रूपमा लागू गरेको थियो, जसमा फिल्डिङ टोलीले एक ओभर सकिएपछि निर्धारित समयमा दोस्रो ओभर सुरु गर्नुपर्ने हुन्छ। यो नियम उल्लङ्घन गरेमा फिल्डिङ टोलीले ठूलो घाटा बेहोर्नुपर्नेछ । आईसीसीले यो नियम टी–२० मा मात्र नभई एकदिवसीयमा पनि लागु गरेको छ ।

स्टप क्लक नियमको कुरा गर्ने हो भने आइसिसीले गत वर्षको डिसेम्बरमा यसलाई लागु गरेपछि टी–२० मा फिल्डिङ गर्ने टिमले एक ओभरपछि अर्को ओभर सुरु गर्न मात्र ६० सेकेन्डको समय पाउँछ । यो समय भित्र टोलीले अर्को ओभरको पहिलो बल फ्याक्नु पर्नेहुन्छ । ओभर सकिएपछि मैदान बाहिर रहेका थर्ड अम्पायरले स्टप वाच सुरु गर्नेछन् । फिल्डिङ गर्ने टिमले अर्को ओभरको पहिलो बल १ मिनेटभित्र फाल्न नसकेको खण्डमा अम्पायरबाट दुई पटक सम्म चेतावनी पाउनेछ । तर त्यसपछि पनि फिल्डिङ गर्ने टोलीले यो कार्य निरन्तर जारी राखेको खण्डमा अम्पायरबाट ५ रन पेनाल्टी पाउनेछ । साथै स्टप वाच लागू गर्ने निर्णय अम्पायरमा निर्भर हुनेछ, उनीहरूले ब्याट्सम्यान वा डीआरएसका कारण ओभर सुरु गर्न ढिलो भएको पनि हेर्नेछन्। क्रिकबजको रिपोर्टअनुसार आइसिसीले टी–२० र एकदिवसीय क्रिकेटमा पनि यसलाई स्थायी रुपमा लागु गरेको छ ।

हाल दुबईमा आइसिसीको धेरै बैठक चलिरहेको छ, जसमा यो नियमबारे पनि छलफल भएको थियो, जसको परिक्षण समय अप्रिल महिनामा सकिँदै छ । आइसिसी क्रिकेट कमिटीले स्टप क्लकको नियमलाई सही ठहर गरेको छ । जसका कारण फिल्डिङ गर्ने टोलीले खेलमा बलिङ गर्दा धेरै समय खेर नफालेको र जसका कारण खेल निर्धारित समयमा नै सकिने गरेको कमिटीले जनाएको छ । टी–२० विश्वकप २०२४ को पहिलो खेल जुन १ मा हुनेछ, जससँगै यो नियम पनि स्थायी रुपमा लागु हुनेछ ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.