दिलशान आइपिएलबाट बाहिरिने सम्भावना, बंगलादेश भ्रमण छाडेर श्रीलङ्का फर्के
काठमाडौंँ । श्रीलङ्काका क्रिकेटर दिलशान मदुशङ्का आइपिएलको उद्घाटन खेलबाट बाहिरिने भएका छन् । उनी चोटका कारण बंगलादेश भ्रमणबाट पनि बाहिरिएका छन् । दिलशान सोमबार चट्टोग्राममा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलबाट बाहिरिएका थिए । श्रीलङ्का क्रिकेट बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै मुदाशंकाको बायाँ ह्यामस्ट्रिङमा चोट लागेको जनाएको छ । उनी स्वास्थ्य लाभका लागि बंगलादेशबाट श्रीलङ्का फर्कने कार्यक्रम छ । उनको चोट एमआरआईमा पुष्टि भएको छ । श्रीलङ्काको हाई पर्फमेन्स सेन्टरमा रहेको मेडिकल टिमले उनको स्वास्थ्य परीक्षण गर्नेछ ।
बंगलादेशविरुद्धको पहिलो एकदिवसीय खेलमा मदुशङ्का घाइते भएका थिए । उनले दुई विकेट लिए । चोटका कारण उनले ६.४ ओभर मात्र बलिङ गर्न सके ।
गत वर्षको डिसेम्बरमा भएको आइपिएल मिनी अक्सनमा मदुशङ्कालाई मुम्बई इन्डियन्सले ४.६ करोडमा किनेको थियो । उनले अहिलेसम्म खेलेका २३ एकदिवसीय खेलमा ४१ विकेट लिएका छन् । १४ टी–२० मा १४ विकेट लिएका छन् । उनले गत वर्ष जुलाईमा कोलम्बोमा पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए तर बलिङको एक इनिङमा कुनै विकेट लिन सकेनन् ।
दक्षिण अफ्रिकी खेलाडी जेराल्ड कोएट्जी पनि आइपिएलको सुरुवाती खेलमा खेल्ने सम्भावना कम छ । उनी मुम्बई इन्डियन्सको टिममा सामेल भएका छन् । उनको ढाडमा चोट लागेको छ । उनी मुम्बई इन्डियन्सको मेडिकल टिमको निगरानीमा छन् ।

टिप्पणी लेख्नुहोस्