लेख विवरण

इस्लामाबाद युनाइटेडले तेस्रो पटक जित्यो पीएसएलको उपाधि

इस्लामाबाद युनाइटेडले तेस्रो पटक जित्यो पीएसएलको उपाधि

काठमाडौंँ । पाकिस्तान सुपर लिग (पीएसएल) २०२४ को अन्तिम खेलमा इस्लामावाद युनाइटेडले मुल्तान सुल्तान्सलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको छ । अन्तिम खेलमा इस्लामावादका लागि इमाद वासिमको अलराउन्ड प्रदर्शन गर्दै बलिङमा ५ विकेट लिए । त्यस्तै ब्याटिंगमा उनले महत्वपूर्ण समयमा १९ रनको अविजित पारी खेल्दै टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुल्तान सुल्तान्सले निर्धारित २० ओभरमा १ सय ५९ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याएको इस्लामाबाद युनाइटेडले अन्तिम बलमा चौका प्रहार गर्दै ट्रफी जित्न सफल भयो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको इस्लामाबाद युनाइटेडलाई मार्टिन गुप्टिल र कोलिन मुनरोको जोडीले तीव्र सुरुवात गराएको थियो । मुनरो १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाएर प्याभिलियन फर्किए पनि गुप्टिलले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतले ५० रनको शानदार इनिङ खेले । कुनै बेला इस्लामाबाद युनाइटेडले १ सय २ रनको स्कोरमा ४ विकेट गुमाएको थियो, त्यसपछि मुल्तान सुल्तानको टोलीले खेलमा पुनरागमन गर्दै १ सय २९ रनको स्कोरसम्म ७ विकेट लिएको थियो । यहाँबाट इमाद वासिमले इनिङ्सलाई एक छेउबाट सम्हाले र आठौं विकेटका लागि नसिम शाहसँग १६ बलमा ३० रनको साझेदारी गरे । इनिङ्सको अन्तिम ओभरमा इस्लामाबाद युनाइटेडलाई जितका लागि ८ रन चाहिएको थियो । त्यसपछि पहिलो ४ बलमा टोलीले ७ रन बनायो । तर ५ औं बलमा नसिम शाहले आफ्नो विकेट गुमाए । त्यसपछि अन्तिम बलमा ब्याटिङ गर्न आएका हुनैन शाहले सर्ट थर्डम्यानतर्फ प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

फाइनल खेलमा मुल्तान सुल्तान्सको टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले १४ रनको स्कोरसम्म यासिर शाह र डेभिड विलीको विकेट गुमाएको थियो । यहाँबाट मुल्तान सुल्तान्सका कप्तान मोहम्मद रिजवान र उस्मान खानले इनिङ्सलाई सम्हालेका थिए तर उनीहरुको सुस्त ब्याटिङले टोलीलाई धेरै घाटा बनाएको थियो । उस्मानले ४० बलमा ५७ रन बनाए पनि कप्तान रिजवानले २६ बल खेलेर ३ चौका सहित २६ रन मात्र बनाउन सके । तर, अन्तिम ओभरमा इफ्तिखार अहमदले २० बलमा ३२ रनको पारी खेलेपछि टोली १ सय ५९ रनको स्कोरमा पुग्न सफल भयो।

 

 

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.