एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न
नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ ।
चैत ६ देखि ९ गते सम्म संचालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो ।
कोर्षमा सहभागि भएकाहरुलाई शुक्रबार प्रमाण पत्र प्रदान गरिएको थियो । एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झन, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।
चार दिन सम्म चलेको एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिएका थिए ।
एन्फाले ५ वर्ष अघि देखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिएका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा मेयर प्रशान्त विष्टले फुटबलको विकासमा प्रशिक्षण कार्यक्रमले प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । फुटबलको विकासमा नगरपालिका सधै सकारात्मक भएर अगाडी बढिरहेको बताउँदैं मेयर विष्टले आगामी दिनमा पनि संघसँग सहकार्य गरेर अगाडी बढने बताए ।
पुर्व कप्तान हरी खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दैं प्रशिक्षणलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रशिक्षण सम्पन्न गर्न सहयोग गर्ने अखिल नेपाल फुटबल संघ, प्रशिक्षकहरु र सहभागीहरुलाई धन्यवाद दिए । संघले आगामी दिनमा फुटबलको विकासका लागि अन्य थुप्रै कार्यक्रम गर्ने तयारी गरेको उनले जानकारी गराएका थिए ।
कार्यक्रममा बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले थुप्रै चुनौतिका बिच संघले फुटबल विकासका लागि काम गर्ने प्रयास गरिरहेको बताए ।
एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झनाले तालिम लिएका प्रशिक्षकले आफनो लगनशील भएर फुटबल प्रशिक्षण गराउँदैं प्रतिभाशाली खेलाडी उत्पादनमा योगदान दिनु पर्ने बताए ।

टिप्पणी लेख्नुहोस्