लेख विवरण

आइपिएलको १७औं संस्करण आजदेखि सुरु हुँदै

आइपिएलको १७औं संस्करण आजदेखि सुरु हुँदै

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को १७औं संस्करण आजदेखि सुरु हुँदैछ । धेरै खेलाडीको पुनरागमन र केही कप्तानको फेरबदलपछि यो सिजन धेरै हिसाबले विशेष छ । रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्सबीच आज प्रतियोगिताको पहिलो खेल हुनेछ ।

चेपक रङ्गशालामा राति ८ः१५ बजे सुरु हुने खेलको टस साँझ ७ः४५ बजे हुनेछ । खेल अघि आइपिएलको उद्घाटन समारोह हुनेछ, जसका कारण खेल ७ः४५ बजेको साटो ८ः१५ बजे सुरु हुनेछ।

सीएसकेको टोलीले आइपिएलको कुनै पनि सिजनको पहिलो खेल नवौं पटक खेल्नेछ । टिमले यसअघि पनि ८ पटक सिजनको पहिलो खेल खेली सकेको छ । टोलीले अहिलेसम्म १० वटा फाइनल खेलेको छ र ५ पटक आइपिएलको उपाधि पनि जितेको छ । आरसीबीले १६ सिजनमा तीन पटक फाइनल खेलेको छ र टोली अझै पनि पहिलो उपाधिको पर्खाइमा छ । चेपकमा चेन्नाईविरुद्धको ८ खेलमध्ये एकमा मात्र आरसीबीले जित हात पारेको छ ।

महेन्द्र सिंह धोनीले चेन्नई सुपर किंग्सको कप्तानपदबाट राजीनामा दिएका छन् । उनको स्थानमा युवा खेलाडी रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको छ । फ्रेन्चाइजका सिइओ काशी विश्वनाथनले धोनी खेलाडीका रुपमा टिमसँग जोडिने स्पष्ट पारेका छन् ।

सीएसके आइपिएलको सबैभन्दा सफल टोली हो भने आरसीबीले एउटा पनि उपाधि जित्न सकेको छैन । हेड टु हेडमा चेन्नई बेंगलोर भन्दा बलियो रहेको छ । यी दुई टोलीबीच हालसम्म ३१ खेल भएका छन् । जसमा चेन्नईले २० पटक र बेंगलोरले १० पटक जितेका छन् । एक खेल नजिता बिहीन भएको छ ।

सीएसकेसँग बलियो ब्याटिङ लाइन अप छ। ओपनर ऋतुराज गायकवाडले पछिल्लो तीन सिजनमा एक शतक र ११ अर्धशतकको मद्दतले १ हजार ५ सय ९३ रन बनाएका छन् । उनका साथी रचिन रविन्द्र हुन सक्छन् । अजिंक्य रहाणे तेस्रो नम्बरमा छन् । मध्यक्रममा मोइन, जडेजा, डेरिल र धोनी जस्ता नामहरू छन्। तल्लो क्रममा शार्दुल, चाहर, शिवम दुबे जस्ता ब्याट्सम्यान पनि छन् । टोलीमा अलराउन्डरको कमी छैन ।

मुस्ताफिजुर रहमान र शार्दुलको आगमनसँगै टोलीको डेथ ओभर बलिङ बलियो भएको छ । मथिश पाथिराना घाइते भए पनि उनी छिट्टै टोलीमा फर्कने सीएसकेले विश्वास लिएको छ । यिनीहरू बाहेक जडेजा, मोइन, सान्टनरसँगै मिस्ट्री स्पिनर महिश तिक्षानाले पनि टोलीलाई बल दिइरहेका छन् ।

चेन्नईका पूर्व कप्तान धोनीले आईपीएलमा आरसीबीविरुद्ध सर्वाधिक रन बनाएका छन् । उनको नाममा ३४ खेलमा ८ सय ३९ रन छन् । रविन्द्र जडेजाले आरसीबीविरुद्ध २६ विकेट लिएका छन् ।

बैंगलोरको टोली सधैं आफ्ना ब्याट्सम्यानमा निर्भर रहन्छ, टोलीले तल्लो क्रमसम्म बलियो ब्याटिङ गर्न सक्छ । जसमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र दिनेश कार्तिक जस्ता नामहरू छन्। म्याक्सवेल, ग्रीन र कार्तिकले फिनिशरको भूमिका खेल्न सक्छन्।

टोलीले अल्जारी जोसेफ, यश दयाल र लोकी फर्गुसनलाई किनेर बलिङ बलियो बनाएको छ । जोसेफ आईपीएलका अधिकांश पिचहरूमा अतिरिक्त गति र बाउन्सका साथ खतरनाक हुन सक्छन्।

बैंगलोरका विराट कोहलीले चेन्नईविरुद्ध १ हजार रन पुरा गर्नबाट मात्र १५ रन टाढा छन् । ग्लेन म्याक्सवेल आरसीबीका सबैभन्दा अनुभवी बलर हुन् जसले चेन्नईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

चेन्नईको एमए चिदम्बरम स्टेडियमको विकेटलाई स्पिनरहरूका लागि सहज मानिन्छ। ब्याट्सम्यानले यहाँ सावधानीपूर्वक ब्याटिङ गर्नुपर्छ । सीएसकेले यस मैदानमा अहिलेसम्म ६४ खेल खेलेको छ, जसमध्ये ४५ मा जित निकालेको छ भने १८ मा मात्रै हार बेहोरेको छ। एक खेल बराबरी भएको छ ।

आरसीबीले चेपौक स्टेडियममा १२ खेल खेलेको थियो जसमध्ये ८ चेन्नईसँग खेलेको थियो। अहिले सम्म टोलीले चेपौकमा ७ हार र एक मात्र जित निकालेको छ । चेन्नई बाहेक, बेंगलुरुले पनि चेपौकमा ४ खेल खेलेको थियो, टोलीले सबैमा जित निकालेको छ ।

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.