आइपिएलको दोस्रो खेलमा आज सनराइजर्स र केकेआर भिड्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को १७ औं संस्करण धमाकेदार रुपमा सुरुवात भएको छ । शुक्रबार उद्घाटन समारोहपछि पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच भएको थियो । आज प्रतियोगिताको पहिलो डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ ।
पहिलो खेल पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मोहालीमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । दोस्रो खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादको सामना गर्नेछ ।
कोलकाता नाइट राइडर्स (केकेआर)ले सन् २००८ मा पहिलो पटक आइपिएल खेलेको थियो । जसमा केकेआरका ब्रेन्डन म्याकुलमले १ सय ५८ रन बनाएका थिए । त्यसपछि सन् २०१२ र २०१४ मा दुई पटक उपाधि जितेको टोली सन् २०२१ मा उपविजेता बनेको थियो । अब टोली श्रेयस अय्यरको कप्तानीमा आज मैदान उत्रदैछ । श्रेयसले पहिलो पटक केकेआरको जिम्मेवारी सम्हाल्नेछन् । उनले यसअघि दिल्लीको कप्तानी गरिसकेका छन् ।
सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले सन् २०१३ मा आइपिएल खेल्न सुरु गरेको थियो । यसअघि हैदराबाद सिटीको नाम डेक्कन चार्जर्स थियो, जसले सन् २००९ मा एडम गिलक्रिस्टको कप्तानीमा उपाधि जितेको थियो । त्यसपछि डेभिड वार्नरले सन् २०१६ मा टोलीलाई च्याम्पियन बनाएका थिए । अब अस्ट्रेलियाका प्याट कमिन्सले हैदरावादको नेतृत्व गर्नेछन्, जसलाई ८ वर्षपछि टोलीलाई च्याम्पियन बनाउने जिम्मेवारी दिइएको छ । कमिन्सले आइपिएलमा पहिलो पटक कप्तानी गर्नेछन् ।
सनराइजर्स हैदरावादविरुद्ध कोलकाताका आन्द्रे रसेलले अहिले सम्म १७ विकेट लिएका छन् । जुन कोलकाताका लागि सबैभन्दा बढी हो । उनीपछि सुनिल नारायणको नाममा ११ विकेट छ, तर यसका लागि उनले २२ खेल खेल्नुपरेको थियो ।
ब्याट्सम्यानमा उपकप्तान नितिश राना शीर्ष स्थानमा छन् । उनले १५ खेलमा ५ सय ३७ रन बनाएका छन् । उनीपछि मनिष पाण्डेले १४ खेलमा ३ सय ५१ रन बनाएका छन् । यी चार खेलाडी आज पनि हैदरावादविरुद्ध हाबी हुन सक्छन् ।
हैदरावादका लागि भुवनेश्वर कुमारले कोलकाताविरुद्धको २७ खेलमा ३२ विकेट लिएका छन् । जुन आइपिएलमा सबैभन्दा बढी हो । यदि हैदरावादलाई आज जित्नु छ भने खेलमा भुवी चल्नु निकै महत्वपूर्ण छ । उनीपछि थांगारासु नटराजनले ७ खेलमा ११ विकेट लिएका छन् ।
ब्याट्सम्यानमा राहुल त्रिपाठी र मयंक अग्रवाल शीर्ष स्थानमा छन् । दुवैले कोलकाताविरुद्ध ३०८–३०८ रन बनाएका छन् । केकेआरविरुद्ध दुवैले २–२ अर्धशतक पनि बनाएका छन् ।
आइपिएलमा अहिलेसम्म कोलकाता र हैदरावादबीच २५ खेल भएका छन् । जसमा हैदरावादले ९ र कोलकाताले १५ खेल जितेका छन् । यी दुईबीच एक खेल टाई पनि भएको थियो ।
कोलकाताको इडेन गार्डेन्स स्टेडियममा हैदरावादको रेकर्ड अझ खराब छ। टोलीले यहाँ ९ खेल खेलेको थियो र ३ मा मात्र जित हासिल गरेको थियो । घरेलु मैदानमा कोलकाताले ८१ मध्ये ४७ अर्थात् ५४ प्रतिशत खेल जितेको छ ।
कोलकाताको पिच स्पिन र तीव्र गतिका बलर दुवैका लागि सहयोगी साबित हुन्छ । तर गत सिजन यहाँ निकै रन बनेका थिए । ब्याट्सम्यानका लागि उपयोगी पिच भए पनि यसपटक स्पिनरले यहाँ प्रभुत्व जमाउन सक्छ । किनभने घरेलु टोलीमा वरुण चक्रवर्ती, सुनील नारायण र सुयश शर्मा जस्ता शीर्ष श्रेणीका स्पिनरहरू छन्।
शनिबार साँझ कोलकातामा गर्मी हुने भएकाले पानी पर्ने सम्भावना भने छैन । दोस्रो इनिङ्समा ओस खस्न सक्छ, त्यसैले टस जितेर ब्याटिङ गर्ने टोलीले लक्ष्य पछ्याउन चाहन्छ ।
दुवै टोलीको सम्भावित प्लेइङ-११
सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), मयंक अग्रवाल, ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, हेनरिक क्लासेन, अब्दुल समद, वानिन्दु हसरंगा/ग्लेन फिलिप्स, मयंक मार्कण्डे, भुवनेश्वर कुमार र उमरान मलिक/जयदेव उनाडकट।
इम्प्याक्टः वाशिंगटन सुन्दर, शाहबाज अहमद।
कोलकाता नाइट राइडर्सः श्रेयस अय्यर (कप्तान), वेंकटेश अय्यर, रहमानउल्लाह गुरबाज/फिल साल्ट (विकेटकीपर), नितिश राणा, रिंकु सिंह, आन्द्रे रसेल, हर्षित राणा, मिचेल स्टार्क, सुनील नारायण, वैभव अरोरा र वरुण चक्रवर्ती।
इम्प्याक्टः सुयश शर्मा, मनिष पाण्डे।

टिप्पणी लेख्नुहोस्