टी–२० विश्वकपअघि डेभिड वार्नर र मार्कस स्टोइनिससहितका खेलाडी सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए
काठमाडौंँ । क्रिकेट अस्ट्रेलिया (सीए)ले सन् २०२४–२५ का लागि खेलाडीहरुको सेन्ट्रल कन्ट्रयाक्ट घोषणा गरेको छ । पूर्व ओपनर डेभिड वार्नर र अलराउण्डर मार्कस स्टोइनिससहित धेरै अनुभवी खेलाडीलाई यसबाट बाहिर राखिएको छ । योसँगै कन्ट्रयाक्टमा चार नयाँ खेलाडी समावेश भएका छन् । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपअघि क्रिकेट अस्ट्रेलियाले लिएको यो ठूलो निर्णय हो ।
क्रिकेट अस्ट्रेलियाले आफ्नो सेन्ट्रल कन्ट्रयाक्टमा २३ खेलाडीलाई स्थान दिएको छ । तीव्र गतिका बलर जेभियर बार्टलेट, म्याट सर्ट, अलराउन्डर आरोन हार्डी र नाथन एलिसलाई पहिलो पटक अनुबन्ध गरेको छ । यी चार खेलाडीले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरिसकेका छन् । सर्ट र हार्डीले गत वर्ष दक्षिण अफ्रिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए भने एलिसले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेलेका थिए ।
वार्नर र स्टोइनिसबाहेक अलराउन्डर एस्टन एगर, मार्कस ह्यारिस र तीव्र गतिका बलर माइकल नेसरले पनि सेन्ट्रल कन्ट्रयाक्टमा स्थान पाएका छैनन् । वार्नरले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन् र टी–२० विश्वकपपछि उनले क्रिकेटलाई बिदाइ गर्ने चर्चा चलिरहेको छ । सायद यही कारण क्रिकेट अस्ट्रेलियाले उनलाई सेन्ट्रल कन्ट्र्याक्टमा समावेश गरेको छैन ।
"म्याट, आरोन र जेभियरले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवाती दिनमा मलाई निकै प्रभावित पारेका छन्," अस्ट्रेलियाका राष्ट्रिय चयनकर्ता प्रमुख जर्ज बेलीले भने। उनीहरूको प्रदर्शन र यी तीन खेलाडीले आफ्नो अन्तर्राष्ट्रिय क्यारियर सुरु गर्ने तरिका शानदार छ। यी खेलाडीको भविष्य राम्रो रहेको र उनीहरु सम्झौताका लागि योग्य रहेको प्यानलको विश्वास छ ।
सेन्ट्रल कन्ट्रयाक्ट पाएका खेलाडीहरु :
प्याट कमिन्स, शन एबोट, जेभियर बार्टलेट, स्कट बोलान्ड, एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, नाथन लियोन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, लेन्स मोरिस, एलेक्स टोड मर्फी, झे रिचर्डसन, म्याट शट, स्टीभ स्मिथ, मिचेल स्टार्क र एडम जाम्पा।

टिप्पणी लेख्नुहोस्