लेख विवरण

चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधि

चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधि

धरान । इटहरी गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।

शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

चर्च ब्वाइजको जितमा खेलको चौथो मिनेटमा नै राजेश परियारले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।  

चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मी क्लबले पाँच लाख प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए । उनलाई नगद एक लाख पुरस्कार दिइएको थियो ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भत्तराज घोषित भएका थिए । उनीहरूले पुरस्कारस्वरुप जनही २०-२० हजार दिइएको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.