लेख विवरण

आइसिसीद्धारा विशेष पुरस्कारका लागि तीन खेलाडी मनोनित

आइसिसीद्धारा विशेष पुरस्कारका लागि तीन खेलाडी मनोनित

काठमाडौंँ । आइसिसीले विश्वका तीन खेलाडीलाई विशेष पुरस्कारका लागि मनोनयन गरेको छ । आइसिसीले विगत केही वर्षदेखि हरेक महिना खेलाडीलाई विशेष पुरस्कार दिँदै आएको छ । जसअन्तर्गत हरेक महिना उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आइसिसी प्लेयर अफ द मन्थ अवार्ड दिइन्छ । आइसिसीले २०२४ मार्च महिनाका लागि आइसिसी पुरुष खेलाडी अफ द मन्थ अवार्डका लागि मनोनयनमा परेका खेलाडी घोषणा गरेको छ ।

आइसिसी पुरुष प्लेयर अफ द मन्थको लागि आयरल्याण्ड र न्युजिल्याण्डका तीव्र गतिका बलरका साथै श्रीलङ्काका अलराउण्डर लाई पनि समावेश गरिएको छ । यो सूचीमा पहिलो नाम आयरल्याण्डका मार्क एडेयरको रहेको छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै मार्क एडेयर आयरल्यान्डका सबै फर्म्याटका अभिन्न अंग हुन् र मार्चमा अफगानिस्तानविरुद्ध आफ्नो टिमको ऐतिहासिक टेस्ट जितमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । आयरल्याण्डका लागि खेलेको खेलमा उनले दुवै इनिङमा कुल ८ विकेट लिएका थिए भने ब्याटबाट १५ रन जोडेका थिए । यसका लागि उनी प्लेयर अफ द म्याच पनि चुनिए । त्यसपछि उनले एकदिवसीय शृंखलामा तीन विकेट र टी–२० सिरिजमा पाँच विकेट लिएका थिए ।

प्लेयर अफ द मन्थको सूचीमा श्रीलङ्काका कामिन्दु मेन्डिसको नाम पनि समावेश छ । सन् २०२२ पछि पहिलो पटक श्रीलङ्काको टोलीमा पुनरागमन गरेका कामिन्डुले मार्च महिनामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले बंगलादेशविरुद्धको टी–२० सिरिजमा ६८ रन बनाएका थिए । उनको सर्वश्रेष्ठ प्रदर्शन दोस्रो टी(२० आईमा रह्यो, जसमा उनले ३७ रन बनाउदै टोलीको शीर्ष स्कोरर बनेका थिए। त्यसपछि उनले बंगलादेशविरुद्धको पहिलो टेस्टमा अझ उत्कृष्ट प्रदर्शन गरेका थिए । टोली निकै कठिन परिस्थितिमा रहेको बखत ब्याटिङ गर्न आएका कामिन्दुले धनञ्जय डी सिल्भासँग छैटौं विकेटका लागि २०२ रनको शानदार साझेदारी गरेका थिए। उनले दोस्रो इनिङ्समा पनि राम्रो प्रदर्शन गरे । आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले धनञ्जयसँग सातौं विकेटका लागि १ सय ७३ रनको साझेदारी गरे । १६ चौका र ६ छक्काको मद्दतमा कामिन्दु करियरकै उत्कृष्ट १ सय ६४ रन बनाएर आउट हुने अन्तिम खेलाडी बनेका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण कामिन्दुलाई यो सूचीमा समावेश गरिएको हो ।

यो सूचीमा न्युजिल्याण्डका म्याट हेनरीको नाम पनि समावेश छ । तीव्र गतिका बलर हेनरीले अष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा उत्कृष्ट बलिङ गरेका थिए । हालै न्युजिल्यान्डमा सम्पन्न ट्रान्स–तस्मान ट्रफी अस्ट्रेलियाले जिते पनि हेनरीले १५.७ को औसतमा १७ विकेट लिएका थिए । जसमा दुई पटक पाँच विकेट लिने उपलब्धि आफ्नो नाम गरेका थिए । उनले २५.२५ को औसतमा १०१ रन पनि बनाएका थिए । यो शृङ्खलामा न्युजिल्याण्ड टोली अस्ट्रेलियाविरुद्ध निकै कमजोर देखिएको थियो, तर हेनरीले शृंखलाभरि असाधारण प्रदर्शन गरे। अन्ततः उनले प्लेयर अफ द सिरिजको अवार्ड पाए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.