लेख विवरण

जीतपुरसिमरा गोल्डकप: साविक विजेतालाई स्तब्ध पार्दै सिराहा अन्तिम चारमा

जीतपुरसिमरा गोल्डकप: साविक विजेतालाई स्तब्ध पार्दै सिराहा अन्तिम चारमा

सुरुचि भण्डारी, बारा । साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । 

आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो । खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए । 

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल ग¥यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएपनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोल अन्तरले पछाडी प¥यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औं मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो । 

अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिंदै बराबरी  ग¥यो । खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो  । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो । 

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादब उत्साहित हुँदै मैदान भित्रै प्रवेश गरेका थिए । 

खेलको म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए । 

प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.